
काभ्रे । नेपाल विद्यार्थी संघ काभ्रेले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार बनेपामा एक कार्यक्रम गरेर नेवीसंघ काभ्रेले निजी विद्यालयबाट ३ दशमलव ९५ जीपीए ल्याउने १२ जना, सामुदायिक विद्यालयबाट ३ दशमलव ७५ जीपीए ल्याउने सामुदायिक विद्यालयका ९ जनासहित विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने ९ सय ५० विद्यार्थीलाई सम्मान गरेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणा, केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, कांग्रेस काभ्रेका सभापति तथा बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइँ मन्त्री तीर्थ लामालगायतले उनीहरुलाई प्रशंसा–पत्रसहित सम्मान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री राणाले सूचना–प्रविधि लगायतका प्राविधिक विषयमा सम्भावनाहरु रहेको भन्दै जुनसुकै विषय पढे पनि उत्कृष्ट हुनुपर्ने बताए ।
बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थ लामाले विद्यार्थीहरु भविष्यका कर्णधार र नेतृत्व भएको भन्दै अहिलेदेखि नै शिक्षा, ज्ञान, सिप आर्जनतर्फ लाग्नुपर्ने बताए । एकतामा बल हुने भन्दै उनले संगठन निर्माणमा एकजुट भएर लाग्न सबैमा अनुरोध गरे ।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सचिव माधवप्रसाद ढकाल, कांग्रेस जिल्ला सचिव गुणराज मोक्तान, रोशी गाउँपालिका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, नेपाल तरुण दल काभ्रेका पूर्व अध्यक्ष रहेका भुम्लु गाउँपालिका उपाध्यक्ष दावा लामा, तरुण दल काभ्रेका अध्यक्ष सुजन लामालगायतले मन्तब्य राखेका थिए ।