खरका छाना फेर्दै शुक्लाफाँटा

दर्पण दैनिक २५ माघ २०७९,०८:५२
post

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका विपन्न परिवारका घरका खरका छाना विस्थापित गर्ने कार्य अगाडि बढाइएको छ । नगरपालिकाका सूचना अधिकारी मोहन फुलाराका अनुसार सहरी विकास विभाग संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले कार्यक्रमअन्तर्गत छाना फेर्नका लागि निवेदन दिएका २ सय ७६ मध्ये २ सय ५७ परिवार छनोट गरेको छ । घरको छानामा पराल, खर, स्याउला, टायललगायतका आगो, पानी तथा हावाहुरीबाट सहजै प्रभावित हुनसक्ने परिवार कार्यक्रमअन्तर्गत छनोटमा परेका छन् ।


गत आवमा छनोटमा परेकामध्ये पहिलो चरणमा १ सय ११ जनाले पहिलो किस्ताको रकम पाएका छन् । दोस्रो किस्ताको रकम ५५ परिवारलाई उपलव्ध गराइएको छ । छनोटमा परेका पहिलो किस्ताको रकम पाउन नसकेका ८९ परिवारलाई चालु आवमा छाना फेर्न पहिलो किस्ताको रकम उपलव्ध गराउने काम भइरहेको सूचना अधिकारी फुलाराले बताए । 


‘छनोटमा परेका परिवारलाई घरको छानामा जस्तापाता राख्नका लागि गत आवमा पहिलो किस्ताका रूपमा ३० हजार रूपैयाँ रकम बैंक खातामा उपलव्ध गरायौं,’ उनले भने, ‘छनोटमा परेका पहिलो किस्ताको रकम पाउन नसकेका परिवारलाई चालु आवमा रकम उपलव्ध गराउने कार्य भइरहेको छ ।’ उनका अनुसार पहिलो किस्ताको रकम पाएका लाभग्राहीले प्राप्त गरेको रकमबाट छाना बनाउनका लागि रंगीन जस्तापाता २६ गेजको र काठ खरिद गर्नुपर्नेछ । 
आवास निर्माण गर्न अधिकतम ५० हजार रूपैयाँसम्म रकम उपलव्ध गरााउने व्यवस्था छ । २० हजार रूपैयाँ दोस्रो किस्तामा दिइनेछ । रकम प्राप्त गरेको तीन महिनाभित्र घर निर्माणको कार्य गरी सक्नुपर्ने प्रावधान छ । आवास निर्माण नगरे स्थानीय तहले सावाँ र ब्याज असूल उपर गर्नेछ । 

सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७७ अनुसार अनुदान उपलव्ध गराउँदा नगरपालिकासँग सम्झौता भएपछि पहिलो किस्ताबापत ६० प्रतिशत ३० हजार रूपैयाँ रकम उपलव्ध गराईने व्यवस्था रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए । ‘नगरपालिकाका प्राविधिकले कार्यविधिको अनुसूची ३ बमोजिमको प्राविधिक प्रतिवेदनसहित गरेको सिफारिसको आधारमा लाभग्राहीलाई दोस्रो तथा अन्तिम किस्ताबापतको २० हजार (४० प्रतिशत) अनुदान रकम उपलव्ध गराइने छ ।’ उनका अनुसार प्राविधिकबाट अनुुसूची तीन बमोजिम प्रतिवेदन पेस भई नगरपालिकाले प्रमाणित गरेपछि निर्माणकार्य सम्पन्न भएको मानिने छ ।

सबै नगरबासीले सुरक्षित आवास पाउने अधिकार रहेकाले सोही अनुसार छाना फेर्ने कार्य भइरहेको नगर प्रमुख रणबहादुर महराले बताए । अत्यन्तै जोखिममा रहेका आर्थिक अवस्थाले सुरक्षित आवास निर्माण गर्न नसक्ने परिवारको छनोट गरी छानामा जस्तापाता र काठको व्यवस्था गर्न रकम उपलब्ध गराउने कार्य भइरहेको उनले सुनाए । 

सुरक्षित आवास निर्माणपछि आगो, हावाहुरी, वर्षा, हिंस्रक जनाबर र सर्प लगायतका विषालु जीवजन्तुबाट विपन्न परिवारले छुटकारा पाउने उनकोे विश्वास छ । नगरपालिका–१० का इन्द्रा दमाइँले घरको छानामा खर राखेर बस्दै आएको बताए । नगरपालिकाले जस्तापाता खरिद गर्न रकम उपलव्ध गराउन छनोट गरेपछि सहज रूपमा घरमा बस्न पाइने भएको उनले सुनाए । ‘घरको छाना वर्षातका बेला चुँहिदा सास्ती हन्थ्यो,’ उनले भने, ‘आगलागी हुने सम्भावना पनि उत्तिकै थियो, जस्तापाता राख्न लागेपछि सुरक्षित भइएको छ ।’ - रासस
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: