काभ्रे । रोशी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि ७४ करोड २७ लाख ६० हजार रुपैयाँको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत (बजेट) सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष दिनेश लामाले गाउँ सभाको तेह्रौ अधिवेशनमा सो बजेट प्रस्तुत गरेका हुन् ।
बजेट प्रस्तुत गर्दै अध्यक्ष लामाले भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताए । अध्यक्ष लामाका अनुसार नीति तथा कार्यक्रममा सबै वडा तथा स्वास्थ्य संस्था जोड्ने र बाह्रै महिना एम्बुलेन्स तथा सवारी साधन चलाउन सकिने सडकनै मुख्य प्राथमिबता भित्र परेको छ । त्यस्तै गाउँपालिकाले प्रत्येक घरधुरीमा विद्युतको सेवा विस्तार गर्ने र एकघर एकधारा कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।
स्वास्थ्यतर्फ ६० वर्षमाथिका जेष्ठनागरिकको निशुल्क स्वास्थ बीमा गरिदिने तथा रोजगारतर्फ कृषिमार्फत रोजगारी सृजना गर्ने कार्यक्रमलाई नीति तथा कार्यक्रमको प्राथमिकतामा राखिएको छ । युवाहरु दिनानुदिन विदेशिनबाट रोक्न रोजगारी सृजना गर्ने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै, अध्यक्ष लामाले गाउँपालिका भित्रका पर्यटक्ीय स्थालहको पहिचान गरि प्रचारप्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याइने बताए ।
सो अवसरमा अध्यक्ष लामाले विकास तथा समृद्धिको लक्ष्य प्राप्तिको अवसर तथा चुनौति, नीति तथा कार्यक्रम तर्जुमाका आधारहरु, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, वन, वातावरण, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकासको सवालमा हाल सम्मका प्रमुख उपलब्धिहरु प्रस्तुत गरे ।
गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाईवाले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक बजेट वक्तव्य प्रस्ताव, बजेटको सोच, लक्ष्य, उदेश्य, प्राथमिकता र अपेक्षित उपलब्धि प्रस्तुत गरेका थिए । कार्यक्रमको अवसरमा जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिम बहादुर तामाङले शुभकामना व्यक्त गरे ।