काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सबै जातजाति, भाषाभाषी र संस्कृतिको उत्थान र विकास हुनुपर्ने बताएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारी एवं पत्रकारहरुसंग राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको भेटमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले विविध भाषाभाषी, संस्कृति र समुदायको विकास र अधिकारको उपभोगले राष्ट्रिय एकता बलियो हुने धारणा पनि राखे ।
उनले नेपालभाषा लगायतका विभिन्न मातृभाषामा पत्रपत्रिकाको प्रकाशन र विकासले सम्बन्धित भाषा, साहित्य, संस्कृतिको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले पत्रकारिताको समावेशीकरण, नेपालमा मातृभाषाको पत्रकारिताको विकासको लागि आफ्नो पूर्ण सहयोग र समर्थन रहने पनि बताए ।
सो अवसरमा उनले सबै भाषाका मूर्धन्य साहित्यकारहरुको सालिक एक ठाउँमा राख्ने भानु उद्यान बनाउने तयारी भइरहेको पनि जानकारी दिए ।
सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले राष्ट्रपति पौडेल समक्ष ध्यानाकर्षण पत्र बुझाए ।
यस अघि राष्ट्रपति पौडेल समक्ष पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले सञ्चारमाध्यमको समावेशीकरण र मातृभाषाको पत्रकारिताको विकासको लागि संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिको तर्फबाट सरकारलाई सुझाव र ध्यानाकर्षण गराउनुपर्ने बताएका थिए । राज्यको चरित्र समावेशी बनाउन सञ्चारमाध्यमपनि समावेशी हुनुपर्ने पनि वरिष्ठ उपाध्यक्ष महर्जनको भनाई रहेको छ ।
नेपाल भाषाको पत्रकारिता शुरु भएको एक सय वर्ष पुगेको सन्दर्भमा नेवाः पत्रकार राष्ट्रिय दबूले विविध कार्यक्रम आयोजना गरी मातृभाषा पत्रकारिता शत्ताब्दी महोत्सवको मनाउँदै आएको छ । यस सन्दर्भमा पत्रकार राष्ट्रिय दबूका पदाधिकारीले राष्ट्रपति पौडेललाई भेटेको हो ।