अख्तियार र सम्पत्ति शुद्धीकरण आयोगमा प्रमुख स्वतन्त्र व्यक्ति नियुक्ति गर्न माग

दर्पण दैनिक १५ जेष्ठ २०८०,०७:१२
post

काठमाडौं । सांसदहरूले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनका लागि अख्तियार अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण आयोगमा निष्पक्ष र स्वतन्त्र व्यक्ति नियुक्त गरिनुपर्ने बताएका छन् ।

राष्ट्रिय सभाको आइतबार बैठकको विशेष समयमा बोल्दै उनीहरूले सुशासन कायम गर्न दुबै आयोगलाई अधिकार सम्पन्न कानुन बनाएर प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । भ्रष्टाचार नियन्त्रणका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने उनीहरूको भनाइ थियो ।


सांसद नरबहादुर विष्टले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनका अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष स्वतन्त्र व्यक्ति नियुक्त हुनुपर्ने बताए । उनले निजामति कर्मचारीबाट अख्तियार प्रमुख नियुक्त हुन नहुने तथा सम्पत्ति शुद्धीकरणमा पनि स्वतन्त्र व्यक्ति नियुक्त गरेर अधिकार सम्पन्न बनाइनुपर्ने बताए ।

सांसद रामचन्द्र राईले सार्वजनिक संस्थान सधैँ घाटामा हुने गरेको भन्दै ती संस्थालाई प्रभावकारी रूपमा सञ्चालन गरी नतिजामुखी बनाइनुपर्ने खाँचो औँल्याए । उनले नेपाल टेलिभिजन स्याटेलाइटमा गइसक्दा पनि दूरदराजका गाउँसम्म पुग्न नसकेको उल्लेख गर्दै ध्यानाकर्षण गराए ।

सांसद कमला पन्तले संसद्लाई मर्यादित र प्रतिस्पर्धी बनाई मुलुकको सुशासन प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिइन् । सांसद उदयबहादुर बोहोराले भ्रष्टाचार देशको संक्रामक रोग हो भन्दै भ्रष्टाचार र अनियमितताको चुनौती तोडेर सुशासनको दिशामा मुलुकलाई अघि बढाउनुपर्ने बताए । उनले हालसम्म भएका सबैखाले भ्रष्टाचारको छानबिन गर्न माग गरे ।

सांसद वामदेव गौतमले नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा जोडिएका सबैलाई छानबिन गरेर कानुनी दायरामा ल्याउन माग गरे । सांसद भगवती न्यौपानेले स्वास्थ्यकर्मीले लामोसमयदेखि तलब भत्ता नपाएको गुनासो आएको भन्दै उनीहरूलाई तलब भत्ताको व्यवस्था गर्न अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद युवराज शर्माले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि सबै राजनीतिक दलहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । सांसद गोमादेवी तिमिल्सिनाले मुलुकको हित र सुशासन प्रवर्धनमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताइन् । सांसदहरू भुवनबहादुर सुनार, तुलसाकुमारी दाहाल, गंगाकुमारी बेलबासेले नीति तथा कार्यक्रममार्फत समेटिएका कार्यक्रमलाई व्यावहारिक कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।
 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७