काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले महत्वपूर्ण जिम्मेवारीका लागि सहयोग गर्न आह्वान गर्दै सांसदहरु पत्र पठाएका छन् । फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनमा आफूलाई मतदान गर्न आग्रह गर्दै प्रदेश र संघीय सांसदलाई पत्र पठाएका हुन् ।
राष्ट्रपति निर्वाचनको संघीय संसद र सातै प्रदेशका प्रदेश सभा सदस्य मतदाता रहेका छन् । संघीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ। नेम्वाङसहित एमाले नेताहरुले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेता र सांसदलाई भेटेरसमेत राष्ट्रपतिमा मत दिन आग्रह गरिरहेका छन् ।
नेम्वाङले मैले राष्ट्रका लागि आवश्यक कानुनहरूको निर्माण गर्न, सरकारलाई संसद र संसदमार्फत् सार्वभौम जनताप्रति उत्तरदायी बनाउन तथा गम्भीर विवादहरूको समाधान गर्दै विभिन्न प्रश्नमा राष्ट्रिय सहमति निर्माण गर्न सहजीकरण पनि गर्न पाएको पत्रमा उल्लेख गरेका छन् ।
‘आफ्नो जीवनका सत्तरी वर्षमध्ये पाँच दशकभन्दा बढी समय लोकतन्त्रको स्थापना, विधिको शासन, मानव अधिकारको प्रत्याभूति, राष्ट्रियताको सम्बर्द्धन एवं नेपाली जनताको श्रीवृद्धि र समृद्धिका लागि अर्पित गरेको छु भन्ने तथ्यसँग माननीयज्यू परिचित नै हुनुहुन्छ । नेपाली जनताको माया र सद्भावका कारण मैले जननिर्वाचित प्रतिनिधिहरूका हातबाट नेपालको संविधान निर्माण गर्ने सार्वभौम संविधानसभाको दुई-दुई पटक नेतृत्व गर्ने अभूतपूर्व अवसर पाएँ ।’ एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङले सांसदलाई पठाएको पत्रमा भनिएको छ, ‘प्रतिनिधिसभा, पुनर्स्थापित व्यवस्थापिका-संसद र रूपान्तरित प्रतिनिधिसभाको सभामुखको रूपमा भूमिका खेल्ने क्रममा मैले राष्ट्रका लागि आवश्यक कानुनहरूको निर्माण गर्न, सरकारलाई संसद र संसदमार्फत् सार्वभौम जनताप्रति उत्तरदायी बनाउन तथा गंभीर विवादहरूको समाधान गर्दै विभिन्न प्रश्नमा राष्ट्रिय सहमति निर्माण गर्न सहजीकरण पनि गर्न पाएँ ।’
संविधान सभाका अध्यक्ष नेम्वाङले नेपालको संविधानले राष्ट्रपतिको भूमिकाका बारेमा स्पष्ट पार्दै त्यस संस्थाबाट संविधानको संरक्षण, पालन र राष्ट्रिय एकताको प्रवर्द्धनको दायित्व निर्धारण गरेको बताएका छन् । ‘राष्ट्रपतिले खेल्नु पर्ने राष्ट्रको अभिभावकीय भूमिकाको मर्मबारे संविधानका व्यवस्था र हाम्रा पन्ध्र वर्षका अभ्यासहरूबाट महत्वपूर्ण अनुभव हासिल भएका छन् । मैले त्यस संस्थाको गरिमा र मर्मलाई न्याय गर्न सक्छु भन्ने ठान्दछु ।’उनले भनेका छन्, ‘यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा मैले यहाँको अमूल्य मतका लागि हार्दिक अनुरोध गर्दछु । यहाँबाट यस महत्वपूर्ण जिम्मेवारीका लागि सहयोग हुने कुरामा म पूर्ण विश्वस्त छु ।’ राष्ट्रपतिमा एमालेबाट नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुँदैछ ।