काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल विरोधमा उत्रिएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुन भनेर पशुपतिमा पित्तलको जलहारी लगाएको आरोप लगाएका थिए ।
सुन भनेर ओलीले पित्तलको जलहारी लगाएको दाहालको आरोपलाई गम्भीर भन्दै एमालेका सांसदहरुले उभिएर संसद बैठकमा अवरोध गरेका हुन् ।
बैठकको सुरुमै एमाले सांसदहरुले ड्यासबाट उठेर विरोध सुरु ग रे। एमाले प्रमुख सचेतक पदम गिरीले सत्ता पक्षले गम्भीर आरोप लगाएको भन्दै त्यसबारे प्रष्ट नहुन्जेल संसद अघि बढ्न नदिने उल्लेख गरे ।
‘सदन सुचारु हुनुपर्छ । हामी पनि त्यही चाहन्छौँ । यति गम्भीर किसिमको आरोप लगाइएको छ। पशुपतिनाथमा सुन भनेर पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लागेको छ’, उनले भने, ‘यसबारे छानबिन हुनुपर्छ। देशको मुख्य चुनौती भ्रष्टाचार हो। जुनसुकै पक्षको मनोबल गिराउनु छ । सदनभित्र भ्रष्टाचारका विषय मनलाग्दो गरी आएका छन्। बिनाआधार बिनाप्रमाण आरोप लगाइन्छ भने एमाले चुप बस्दैन ।’