काठमाडौं । सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तमबहादुर सुवेदी र पूर्वनायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल रहेका छन् ।
सरकार र मिटरब्याज पीडितको एक समूहबीच शनिबार ५ बुँदे सहमति भएको थियो । जसमा मिटरब्याज पीडितको समस्या समाधानका लागि अधिकारसम्पन्न आयोग गठन गर्ने पनि थियो । सोही सहमति अनुसार आयोग गठन गरिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । जाँचबुझ आयोगलाई मिटरब्याज पीडितको समस्या समाधान हुने गरी ठोस र व्यवहारिक प्रतिवेदन तयार पार्न ३ महिनाको समय दिएको उनले बताइन् ।