काठमाडौं । आजदेखि मलमास सुरु भएको छ । पुरुषोत्तम मास पनि भनिने अधिक मासलाई भगवान् विष्णुले स्वयम् आधिपत्य स्वीकार गरेको किंवदन्ती छ । सूर्यले ग्रहण नगरेको मास अर्थात् महिनालाई भगवान् पुरुषोत्तम स्वयम्ले आधिपत्य स्वीकार गरेकाले यो मासमा भगवान् नारायणको पूजा अर्चना गरिन्छ । अन्य पूजाहरू सामान्यतया चले पनि विवाह, व्रतबन्ध लगायतका शुभकार्यहरू भने गर्नुहुँदैन ।
मलमासमा पतिपत्नी विवाहको प्रथम वर्ष हो भने साथ नबस्ने मान्यता छ । अधिकमासमा चन्द्रागिरी नगरपालिका– ९ स्थित मच्छेनारायण मन्दिरमा आज मंगलबार भव्य मेला लागेको छ । मन्दिर दर्शनका लागि विहानैदेखि भक्तजन आइपुगेका छन् ।
पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मच्छेनारायण गई स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुसी हुने धार्मिक विश्वास छ ।
भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यहीँको कुण्डमा भएको विभिन्न धार्मिक किताबमा उल्लेख छ । मत्स्यनारायण रूपमा भगवान विष्णुले पहिलो अवतार लिएको स्थानको रुपमा अधिकमासको समयमा पनि यस मन्दिरको पुरा आराधना गर्न मिल्ने धार्मिक विश्वास छ ।