काठमाडौं । प्रतिनिधिसभाको बैठक असार २२ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार दिउँसो अपराह्न ४ बजेको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको थियो ।
बैठक सञ्चालनका लागि राजनीतिक दलका प्रमुख सचेतकहरुसहितको बैठकमा सहमति नजुटेपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको जानकारी गराइएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको सोमबार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले बुधबर संसद् बैठक अवरुद्ध गरेको थियो । प्रधानमन्त्रीले राजीनामा नगरेसम्म संसद् बैठक सञ्चालन गर्न नदिने उनीहरुले बताएका छन् ।