काठमाडौं । नेपाली सेनाका केही जर्नेलहरुको सरुवा भएको छ । सुदूरपश्चिम पृतना हेडक्वार्टरमा दरबन्दी भई राष्ट्रिय प्रतिरक्षा महाविद्यालयमा काजमा खटिएका सहायक रथी टंकप्रसाद भट्ट सैनिक सचिव विभागको अतिरिक्त समूहमा पुगेका छन् ।
तर उनले महाविद्यालयमै काजमा रहने छन् । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा दरबन्दी रहेर १७ नम्बर बाहिनी अड्डामा काजमा खटिएका जर्नेल भोलानाथ थापालाई उक्त बाहिनी अड्डाको बाहिनीपति बनाइएको छ ।
नम्बर १८ बाहिनी अड्डामा रहेर उत्तर पश्चिम पृतना हेडक्वार्टरमा काजमा खटिएका सहायक रथी सन्तोषराज पाण्डेलाई उत्तर पश्चिम पृतना हेडक्वार्टर सरुवा गरिएको छ ।
नम्बर १७ बाहिनी अड्डामा रहेर पश्चिम पृतना हेडक्वार्टरमा काजमा खटिएका अर्का जर्नेल लक्ष्मण थापालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको छ ।
चरक बाहिनीका सहायक रथी सुरत रावललाई सुदूरपश्चिम पृतना हेडक्वार्टरमा खटाइएको छ । उनी बाहिनीमा रहे पनि सुदूरपश्चिम पृतना हेडक्वार्टरमै कार्यरत थिए ।