काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका क्रममा भारतमा छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा बुधबार दिल्ली पुगेका प्रधानमन्त्री ‘प्रचण्डले आज तेस्रो दिन मध्यप्रदेशको उज्जैनमा महाकालेश्वरको पूजाअर्चना गर्ने कार्यक्रम छ ।
त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची छ । आजै प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशका राज्यपालसँग भेटघाट गर्ने कार्यक्रम छ । यसअघि हिजो प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए ।
हिजै उनले राजघाटस्थिल महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका थिए । केही परियोजनाको उद्घाटनसमेत गरेका थिए । प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गरेका थिए ।
त्यसपछि उनले नेपाल, भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सम्बोधन गरेका थिए । भ्रमणको पहिलो दिन बुधबार प्रधानमन्त्री प्रचण्डसँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले भेट गरेका थिए ।
नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भएका प्रधानमन्त्री प्रचण्डले प्रवासी नेपालीलाई सम्बोधन गरेका थिए । भ्रमणको चौथो दिन भोलि ४ः२० बजे दिल्लीबाट प्रधानमन्त्री प्रचण्ड स्वेदश फिर्ता हुने कार्यतालिका रहेको छ ।