काठमाडाैं । अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ ।
सांसद श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरू दोहर्याएको भन्दै अर्थमन्त्रीले जिज्ञासा मात्रै राख्नु भनेपछि उनीहरूबीच भनाभन भएको हो ।
समितिको बैठकमा बोल्ने क्रममा सांसद श्रेष्ठले डाँडाको टुप्पोमा भ्युटावर भनेको कस्तो बेबकुफ भन्ने शब्द प्रयोग गरेपछि मन्त्री महतले पुराना कुराभन्दा पनि अर्थतन्त्र र बजेटको बारेमा जिज्ञासा राख्न आग्रह गरेका थिए । सोही विषयलाई लिएर सांसद श्रेष्ठले साना कुराहरूमा आत्मनिर्भर बन्नुपर्ने बताए ।
मन्त्री महतले आफूले यस्ता विषयहरू बुझिसकेको भनेपछि पुनः सांसद श्रेष्ठले निजी क्षेत्रले सरकारलाई विश्वास गर्न नसकेको कुरा उठाए । उनले वित्तीय संस्थालाई नियमन कसरी गर्ने ? र तीन खम्बे अर्थनीतिको कुरा गरेपछि पुनः मन्त्री महतले आफूले यसबारेमा बुझिसकेको प्रतिक्रिया दिए ।
मन्त्री महतले आफूलाई ढिला भइसकेको भनेपछि सांसद श्रेष्ठले हतार नगर्न आग्रह गरे । मन्त्री महतले भने लामो जवाफ दिइरहेको र त्यसको कारण सांसदहरूले प्रश्न गर्न नभ्याएको बताए ।
मन्त्री महत र सांसद श्रेष्ठबीचको भनाभनः
विराजभक्त श्रेष्ठः
पुँजीगत खर्च भनेको पुँजीगत खर्च होइन, पुँजीगत लगानी हो, त्यसले त प्रतिफल दिनुपर्छ हामीलाई । त्यो प्रतिफल कहिले र कति आउँछ भन्ने हामीसँग आँकलन हुँदैन, उदाहरणको लागि गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लिए पुग्छ । हाम्रा योजना मनगढन्ते हुन्छन् । एकपटक भ्युटावरको कल्चर आएको थियो, डाँडाको टुप्पोमा भ्युटावर भनेको कस्तो बेबकुफ हो । डाँडा आफैँ भ्युटावर हो नि त । व्यापार घाटामा कतै न कतै अवसर लुकेको छ । १३ करोडको धनियाँ आयात गर्छौं त्यसमा धनियाँमा आत्मनिर्भर बनौँ न ।
अर्थमन्त्री डा. प्रकाशशरण महतः
भ्युटावरको कुरा मैले संसददेखि सुनेको सुन्यै छु, यो कुराको ग्रहण गरिसकेँ ।
सांसद श्रेष्ठः
निजी क्षेत्रले सरकारलाई विश्वास नै गर्न सकेको छैन । वित्तीय संस्थालाई नियमन कसरी गर्ने । हामीले तीन खम्बे अर्थनीतिको कुरा गरेका छौँ । सहकारी बेसलाइन अर्थतन्त्र हो यो ।
मन्त्री महतः बुझेँ बुझेँ
सांसद श्रेष्ठः मन्त्रीज्यु हतार नगर्नस् न । जवाफ नै लामो दिइराख्नुभएको छ तपाईंले । प्रश्न सोध्दा तपाईंलाई ध्यानाकर्षण त गराउनुपर्छ नि ।
लाखौं रुपैयाँ खाएर सहकारी भागिरहेको छ, खर्बौं रुपैयाँ वित्तीय प्रणालीमा छैन । अनि देशमा आर्थिक संकट नभए के लक्ष्मी भगवान आएर बस्छन् ? यो कुरा हामीले कहाँ ध्यानाकर्षण गराउने ?
तपाईंलाई हतार भयो भनेर हुन्छ ? कि बैठक नै राख्नुभएन । सभापतिज्यू यस्तो हो भने बैठक नै नराखिदिनुहोस् । उहाँलाई हतार छ ठीक छ जानुहोस् ।
मन्त्री महतः
तपाईंहरूले पटकपटक यी कुराहरू राख्नुभएको छ, जिज्ञासा मात्रै राख्नुस् न । मैले ग्रहण गरेको छु, व्याख्यात्मक भन्दा जिज्ञासामा जानुहोस्, यो कुरा बुझेको छु ।
सांसद श्रेष्ठः बुझेको भए संकट किन छ ?
मन्त्री महतः संकट मैले आजको आजै संकट समाधान हुन्छ र ? त्यसको लागि म इमान्दार प्रयास गर्छु ।
सांसद श्रेष्ठः आजको बैठकको औचित्य के ?
मन्त्री महतः सभापतिज्यूले बोलाएर म आएको हो नि ।
सांसद श्रेष्ठः तपाईं त समितिप्रति जवाफदेही हुनुहुन्छ नि । हाम्रो औपचारिक प्रणालीबाट खर्बौं रुपैयाँ बाहिर छ, त्यसलाई नियमन गर्नुहोस् । त्यसले पनि असर गरेको छ ।