काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सांसद् विकास कोषका लागि बजेटमार्फत् रकम छुट्याउनु आफ्नो योजना नभएर बाध्यता रहेको बताएका छन् । मंगलबार सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् । यस क्रममा उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सन्तुलित रहेको बताएका थिए । माओवादीका सांसदहरूलाई बजेटको बचाउ गर्न पनि उनले निर्देशन दिएका थिए ।
'सांसद विकास कोष हाम्रो योजना होइन तर बाध्यता भयो, तर यसलाई कार्यविधि बनाएर व्यवस्थित गरिन्छ,' प्रधानमन्त्रीलाई उद्धृत गर्दै बैठकमा उपस्थित एक सांसदले बताए । यसका लागि सबैतिरबाट दबाब आएको प्रधानमन्त्रीको भनाइ थियो । तर दबाब कसले दिएको भनी किटान गरेका थिएनन् । तर यसलाई कार्यविधि बनाएर लैजाने उनको भनाइ थियो ।
सोमबार प्रस्तुत भएको बजेटमा सांसद विकास कोषका लागि बजेट छुट्याइएपछि आलोचना भइरहँदा यसबारे प्रधानमन्त्री दाहालले आफ्नो प्रतिक्रिया दिएका हुन् ।