
काठमाडाैं । हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । आज धनगढी विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भेट गरेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले यस्तो आग्रह गरेका हुन् । सुदूरपश्चिम महाेत्सवकाे उद्घाटनका लागि प्रधानमन्त्री दाहाल धनगढी पुगेका हुन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले विपिनकाे रिहाइका लागि सकारात्मक पहल सरकारले गरिरहेकाे बताएका थिए ।
विपिनका बुबाआमाले यसअघि पनि परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर रिहाइकाे पहलका लागि बिन्ति गरेका थिए । विपिन हमासकाे नियन्त्रणमा रहेकाे इजरायली सेनाले पुष्टि गरेकाे भए पनि उनकाे पछिल्लाे अवस्था अज्ञात छ ।
इजरायल र हमासबीच युद्धविराम गरी बन्धक र बन्दी रिहाइकाे सहमति भएकाे थियाे । त्यसबखत रिहाइकाे सूचीमा विपिन पर्न सकेनन् ।
सरकारले विपिनकाे रिहाइका लागि हरसम्भव प्रयास गरिरहेकाे बताउँदै आएकाे छ । परराष्ट्रमन्त्री साउदले अन्तर्राष्ट्रिय समुदाय तथा हमासका सहयाेगी शक्तिका नेताहरूसँग पनि विपिनकाे रिहाइका लागि पहल गरेकाे केहीअघि बताए पनि ठाेस रूपमा काम हुन सकिरहेकाे छैन ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google