काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ । उनीमाथि पाँच हजार जनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर गत मंगलबार मुद्दा दायर भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडीखेलमा आयोजित थारु माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले दश वर्षे युद्धकालमा भएको पाँच हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए । सोही अभिव्यक्तिलाई मुख्य विषय बनाएर पीडितले मुद्दा दायर गरेका थिए । रिट निवेदनको पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछापका ज्ञानेन्द्रराज आरणसहित रहेका छन् ।
अध्यक्ष प्रचण्डमाथि सर्वोच्च अदालतमा रिट दर्ता भएपछि माओवादी धारका नेताहरुले आपत्ति जनाएका छन् । यसअघि नेताहरुको संयुक्त बैठकले त्यसको विरोध गर्दै संयुक्त प्रतिवाद गर्ने चेतावनी दिएका थिए ।