काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको मध्य प्रदेश राज्यस्थित उज्जैन सहरमा रहेको प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजा गरेका छन् । शुक्रबार बिहान नयाँदिल्लीबाट हवाईजहाजमा इन्दौर उत्रिएका प्रचण्डले त्यहाँबाट सडकमार्ग हुँदै महाकालेश्वर मन्दिरमा मध्यान्ह १२ बजे पूजा गरेका हुन् ।
पूजाका क्रममा प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री एनपी साउद र अर्थमन्त्री डा. प्रकाशशरण महत पनि सहभागी थिए । प्रचण्डले बिरामी अवस्थामा रहेकी पत्नी सीता दाहालको स्वास्थ्यलाभको कामनासहित महाकालेश्वर मन्दिरमा १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ पनि दान गरेका छन् ।
इन्दोरमा प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका थिए भने मन्दिरमा राज्यपाल नै पुगेका थिए । भारतको १२ ज्योतिर्लिङ मध्ये मशाकालेश्वर पनि एक हो। जुन मन्दिरबारे कालिदासले मेघदूतमा पनि उल्लेख गरेका छन् । उक्त मन्दिर प्रजापति ब्रम्हाले स्थापित गरेको विश्वास छ ।