काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरबारमा ज्ञापनपत्र बुझाउने क्रममा सरकारी विज्ञापनमा भएको चुहावट रोक्नेगरी सरकारले गृहकार्य अघि बढाएको बताएकी हुन् ।
सरकारी विज्ञापनमा देखिएको चुहावट र विचौलियापन रोक्न सकेमात्र नेपाली सञ्चार माध्यम र सञ्चारकर्मीले भोग्दै आएको समस्या समाधानमा महत्वपूर्ण योगदान पुग्ने उनले बताइन् ।
सरकारी विज्ञापनमा ८० देखि ९० प्रतिशतसम्म डिस्काउन्ट र विचौलियाले पैसा लिने गरेको आफूले थाहा पाएको बताउँदै उनले भनिन्, "त्यसलाई मात्र रोक्न सकियो भने सञ्चारमाध्यमले अहिले भोग्दै आएको एक हदसम्मको आर्थिक समस्या समाधान हुनेछ । त्यसले श्रमजीवी पत्रकारहरूको पनि हित हुनेछ ।'
विज्ञापनमा एकद्वारा प्रणाली लागु हुँदै श्रमजीवी पत्रकारले समयमा सेवा सुविधा नपाउने समस्या समाधानमा पनि सहयोग पुग्ने उनको दाबी छ ।
'अब विज्ञापनको सवालमा यस्तो हुँदैन । पत्रकारिता पेसा र पत्रकारलाई बलियो बनाउन विज्ञापन एकद्वार प्रणालीमा जानेछ,' उनले भनिन्, 'विज्ञापनमा हुने चुहावट रोकिएमा मिडियामा न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषमा जान समस्या हुँदैन ।'
मुलुक संघीयतामा गइसकेकाले संघ, प्रदेश र स्थानीयतहका विज्ञापनलाई कसरी एकद्वार प्रणालीमा लैजान सकिन्छ भन्नेमा केही व्यवहारिक कठिनाइ रहेको मन्त्री शर्माले बताइन् ।
त्यसलाई व्यवहारिकरूपमा कसरी समाधान गर्न सकिन्छ सुझाउन पनि मन्त्री शर्माले नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिलाई आग्रह गरेकी छन् ।