काठमाडाैं । नाबालिका बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्धको उक्त मुद्दाको पेसी आजका लागि तोकिएको थियो । तर, सन्दीपका कानुन व्यवसायीको निवेदनमा सुनुवाइ स्थगित भएको हो ।
सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार आजको लागि पेसी स्थगित भएको हो । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको मुद्दाको पेसी तोकिएको थियो । न्यायाधीश घिमिरेकै इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
तर, पाटन उच्च अदालतले सन्दीपलाई २० लाख धलौटीमा विभिन्न सर्त राख्दै धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि सर्वोच्च अदालतले सन्दीपलाई पुर्पक्षमा राख्नु नपर्ने भन्दै विदेश खेल्न जान समेत अनुमति दिएको थियो ।
गत भदौ ५ गते सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै २१ गते एक नाबालिकाले गौशालास्थित प्रहरी वृत्तमा उजुरी दिएकी थिइन् । त्यसपछि सन्दीपविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दीप असोज २० गते स्वदेश फर्किएलगतै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।