काठमाडाैं । सरकारले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिएको छ । फागुन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ लाई १० गते बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने गरी फिर्ता लिइएको जानकारी दिइन् ।
उनले मण्डन देउपुर- ६, बेथानचोक- २, लिखु- ४, रघुगंगा- २, तातोपानी- ४, रिद्धिकोट- ३, रुरु क्षेत्र- ४ र अपि हिमाल- ४ गरी जम्मा आठ स्थानमा औद्योगिक ग्राम स्थापाना गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिइन् ।
बिदालाई व्यवस्थित गर्न यसपटक २ वटा बिदा थपेर गत वर्षकै बिदा दिने तर आगामी वर्षका लागि भने बिदा व्यवस्थित गर्न पुनरावलोकन गरी अघि बढ्ने निर्णय भएको पनि उनको भनाइ छन् ।
यी हुन् मन्त्रिपरिषद्का निर्णयः
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयबाट पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक २०७९ संसदमा पेस भएको थियो । त्यसलाई फिर्ता लिएर छिटो भन्दा छिटो फेरि संसदमा पेस गर्नेगरी १० गते संसदमा पेस गर्नेगरी तयारी गरेर पेस गर्नेगरी फिर्ता लिने
- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मण्डन देउपुर- ६, बेथानचोक- २, लिखु- ४, रघुगंगा- २, तातोपानी- ४, रिद्धिकोट- ३, रुरु क्षेत्र- ४ र अपि हिमाल- ४ गरी जम्मा ८ वटा स्थानमा औद्योगिक ग्राम स्थापाना गर्ने
- बर्ड फ्लु रोगको नियन्त्रणका क्रममा आ.व. २०७९ मा प्रचलित कानुनबमोजिम नष्ट गरिएको वस्तुहरूको लागि राहत प्रदान गर्ने भन्ने कुरालाई कार्यविधि बनाएर राहत प्रदान गर्ने
- २०८० सालको क्यालेण्डर निर्माण गर्ने सन्दर्भमा बिदाका विषयमा के गर्ने भन्ने छलफल भएको थियो, मन्त्रिपरिषद् भित्रको प्रशासन समितिमा पनि छलफल भएको थियो । त्यहाँ हामीले पुनरावलोकन गर्नुपर्छ भन्ने पनि एउटा विचार छ । तत्काल क्यालेण्डर छापिसक्ने अवस्था भइसकेको अवस्थामा आउने भदौ सम्ममा पुनरावलोकन गर्ने र समग्र बिदालाई व्यवस्थित गर्ने भन्ने निर्णयसँगै अहिले यसपटक भइराखेका बिदामा २ वटा बिदा थप गरेर बिदा दिनेसम्बन्धी गृहको प्रस्तावलाई स्वीकृत गरिएको छ । थपिएका दुई बिदामध्ये पृथ्वी जयन्ती र जनयुद्ध दिवस रहेको छ ।
- २०७९ साल फागुन १५ देखि १८ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय मानव अधिकाकर परिषद्को ५२औँ सत्रमा परराष्ट्रमन्त्रीज्यूको नेतृत्वको प्रतिनिधि मण्डललाई भाग लिन जान स्वीकृत दिने ।
- मोरङ जिल्ला साविक लेटाङ गाविस वडा नम्बर १ को ०४, १६ बिघा सार्वजनिक जग्गा ३० वर्षका लागि प्रहरी चौकी बुधबारे लेटाङलाई प्रयोग गर्न स्वीकृति दिने
- तत्कालीन जिल्ला पञ्चायत सचिवालय, जिल्ला पशु सेवा शाखा कार्यालय, गोरखाका नाममा रहेको जिल्ला गोरखा साविक सिद्धिवास गाविस वडा नम्बर ८ को ४६२२ रोपनी जग्गा चुमनुम्बी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि उपयोग गर्न स्वीकृति दिने
- ललितपुर जिल्ला साविक लुभु वडा नम्बर ३ कको २/२ रोपनी सरकारी जग्गा लुभु प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणार्थ महालक्ष्मी नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिने
- काठमाडौं जिल्ला साविक थानकोट गाविस वडा नम्बर २ काके २३००० रोपनी सरकारी जग्गा चन्द्रागिरी नगरपालिकालाई १५ शैय्याको आधारभुत अस्पताल निर्माण गर्न स्वीकृति दिने
- नेपाल इन्जिनियरिङ परिषद् अध्यक्ष पदमा इन्जिनियर डा. पदमबहादुर साहीलाई उपाध्यक्षमा इन्जिनियर डा. विकास अधिकारी र सदस्यमा इन्जिनियर डा. रेस्मा श्रेष्ठलाई मनोनयन गर्ने
- २०७९ फागुन ११ देखि १२ सम्म स्वीटजरल्याण्डमा हुने ५औँ ग्लोबल मन्त्रीस्तरीय समिट अन प्यारेन सेफ्टी विशेष सम्मेलनमा भाग लिन मान्य स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई जान स्वीकृति दिने