आज हरितालिका तिज, देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै

दर्पण दैनिक १ आश्विन २०८०,०६:४९
post

काठमाडौं । आज भाद्र शुक्ल तृतीया अर्थात् हिन्दू नेपाली महिलाको महान पर्व हरितालिका तिज, देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

भाद्र शुक्ल द्वितीयामा दर खाएपछि औपचारिक रुपमा सुरु हुने तिज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तिज समापन हुन्छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएकी थिइन्। तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । 

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरु बताउँछन् । 


धर्मशास्त्रविद्हरुका अनुसार निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने उनीहरुको भनाइ छ । 

विवाहित महिलाले अटल शौभाग्यका लागि तिजमा व्रत बस्छन्। यस्तै अविवाहित युवती र युवकले असल वर र बधु प्राप्तिका लागि तिजमा व्रत बस्छन् । नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा पुरुषले पनि व्रत बस्ने गरेका छन् ।

तिजका दिन देशभरका शिवालयहरुमा व्रतालुको घुइँचो लाग्ने गर्छ। काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा पनि व्रतालुको घुइँचो लाग्छ । तिजमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । पशुपति क्षेत्र विकास कोषले व्रतालु भक्तजनका लागि सहज बनाउन ४ स्थानबाट लामको व्यवस्था गरिएको जनाएको छ । 

कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर-आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने बागमती नदीमाथिका दुई पुल पार गरेपछिकोमध्ये क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ । 

दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ। यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको छ । तेस्रो लाम गौशाला–पिङ्गलस्थान-पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ। यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघर अघिको भाग राखिनेछ ।  

चौँथो लाम गुह्येश्वरी-उमाकुण्ड-कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ । 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७