काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आज (आइतबार) देखि सुरु हुँदै छ । संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ ।
राष्ट्रियसभाको १४औँ अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको भने यो दोस्रो अधिवेशनको पहिलो बैठक हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ ।
संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिनेछ ।
आइतबारको बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ । प्रतिनिधिसभा बैठकको सुरुआतमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । सभामुखले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् ।
त्यसैगरी आजको बैठकमा सभामुखले आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यको मनोनय गर्ने सम्भावति कार्यसूची छ ।
त्यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस गर्ने कार्यतालिका छ ।
बैठकको अन्तिममा अर्थमन्त्री डा प्रकाशशरण महतले, ‘आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजित विधेयकका विभिन्न सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
शनिबार बसेको सत्ता गठबन्धनको बैठकमा सरकारको आगामी बजेट र नीति तथा कार्यक्रमसम्बन्धी छलफल भएको थियो। यस अधिवेशनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम आय व्यायको विवरण (बजेट) प्रस्तुत हुनेछ ।