काठमाडौं । उत्कृष्ट कार्य गर्ने १० प्रहरीलाई विशेष बढुवा गरिएको छ । आर्थिक वर्ष २०८०/८१ भर गरेका कामको आधारमा प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले १० प्रहरीलाई विशेष बढुवा गरेका हुन् । बढुवा हुनेमा जवानदेखि सईसम्मका १० जना छन् ।
जसमा प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सन्जेललाई वरिष्ठ सईमा बढुवा गर्ने निर्णय भएको छ । उनी लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत छन् । अर्का सई ईश्वर खत्रीलाई पनि वरिष्ठ सईमा बढुवा निर्णय भएको आईजीको सचिवालयले जनाएको छ ।
त्यसैगरी प्रहरी सहायक निरीक्षक (असई) गोकुल खत्रीलाई सईमा बढुवा गर्ने निर्णय भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सुरक्षा प्रहरी कार्यालयमा कार्यरत अर्का वरिष्ठ हवल्दार दीपेन्द्र चन्दलाई असईमा बढुवा गर्ने निर्णय भएको छ ।
प्रहरी सहायक हवल्दार प्रभातकिरण श्रेष्ठ, अमरराज मिश्र, रविना राईलाई प्रहरी हवल्दारमा विशेष बढुवा गर्ने निर्णय भएको छ । प्रहरी जवानहरू भरत शाही, सूर्य कुँवर र पहलमान शाही पनि प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् ।
प्रहरी नियमावलीको दफा ३९ मा बढुवा सम्बन्धी विशेष व्यवस्था छ । जसमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई राजपत्र अनंकित पदसम्म एक तहमाथि बढुवा गर्ने अधिकार प्रहरी महानिरीक्षक (आईजी)लाई दिइएको छ । जसअनुसार आईजीले वरिष्ठ सईसम्म बढुवा गर्न सक्नेछन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google