काठमाडाैं । राजस्व अनुसन्धान विभागले एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान फाइल प्रहरीलाई बुझाएसँगै प्रहरी सक्रिय भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यो प्रकरणको अनुसन्धान थालेको हो । सीआईबीले यो प्रकरण छानिबनका लागि एसपी सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृतसमेत तोकेर अनुसन्धान अगाडि बढाएको छ ।
३ साउनमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भइसकेको अवस्थामा विमानस्थल बाहिरबाट ठूलो परिमाणमा अवैध सुन बरामद गरेको थियो । प्रहरीलाई कुनै सुइँको नदिई राजस्वले यो अप्रेसन चलाएको थियो ।
राजस्वले करिब १५ दिनसम्म यो प्रकणको आफैँ अनुसन्धान गरेको थियो । त्यस क्रममा १९ जना पक्राउ परेका थिए भने काठमाडौंका विभिन्न स्थानमा छापा मारिएको थियो । चिनियाँ, नेपाली र भारतीय नागरिक यो प्रकरणमा पक्राउ परेका छन् भने टोखामा यो गिरोहको सुन गाल्ने कारखाना नै फेला परेको थियो । पक्राउ परेकाहरूलाई राजस्वले सीआईबीकाे हिरासतमा पठाइसकेकाे छ ।
यो त्रिदेशीय संगठित अपराध देखिएपछि राजस्वले संगठित अपराधको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीलाई आफूले गरेको अनुसन्धान फाइल प्रहरीलाई बुझाएको हो ।
यो प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै लगातार संसद अवरोध गरिरहेको छ ।