काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । तर, सांसदले प्रधानमन्त्रीलाई सोध्ने प्रश्नको विषय सभामुख देवराज घिमिरेलाई पहिले नै जानकारी गराउनु पर्नेछ ।
प्रधानमन्त्रीलाई प्रश्न सोध्न १५ जना सांसदले नाम टिपाएका छन्। एक दिनको बैठकमा बढीमा १५ जना सदस्यले मात्र प्रश्न सोध्न सक्ने व्यवस्था नियमावलीमा छ । सांसदहरूले प्रधानमन्त्रीलाई समसामयिक विषयमा प्रश्न सोध्ने जानकारी सभामुखलाई गराएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण, नागरिकता विधेयक, आर्थिक संकटलगायत अहिलेका जल्दाबल्दा विषय हुन्।त्यस्तै आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आव २०७८/०७९ को वार्षिक प्रतिवेदन’ पेस गर्ने पनि सम्भावित कार्यसूची रहेको छ ।