काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । बिहीबार काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरीको टोलीले हज कमिटीका अध्यक्ष मियाँलाई सिंहदरबारबाट पक्राउ गरेको हो । मियाँले प्रयोग गर्ने सरकारी गाडी नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूले पैसा ओसार्न प्रयोग गरेको खुलेको छ ।
पक्राउ परेका आरोपीको बयानका आधारमा मियाँलाई प्रहरीले पक्राउ गरेको हो । आरोपीहरूले मियाँको गाडी पैसा ओसार्न प्रयोग गरेको बयानका क्रममा बताएका थिए ।
मियाँ चढ्ने सरकारी गाडी भने प्रहरीले यसअघि नै आफ्नो नियन्त्रणमा लिइसकेको छ । अर्घाखाँची बालकोट–८ का मियाँ एमाले उपाध्यक्ष रामबहादुर थापा बादल गृहमन्त्री हुँदा २०७५ पुस २९ गते हज कमिटीको अध्यक्षमा नियुक्त भएका थिए ।