काठमाडाैं । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक संघीय संसद सचिवालयले सूचना टाँस गरी मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको हो ।
'आइतबार दिनको १ बजे बस्ने गरी तय भएको प्रतिनिधिसभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक २०८० साल भदौ ५ गते मंगलबार दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ,' संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा भनिएको छ ।
संघीय संसदका दुवै सदनको बैठकको अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको राष्ट्रिय दलका शीर्ष नेताहरूसँगको छलफल सकारात्मक भएपछि आजका लागि बोलाइएको संसद बैठक स्थगित गरिएको हो ।
प्रधानमन्त्री प्रचण्डले बोलाएको राष्ट्रिय दलका शीर्ष नेताहरूको बैठकले दुई दिनपछि बैठक राख्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेको थियो । बैठकको आग्रह अनुसार सभामुख घिमिरेेले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक मंगलबारका लागि सारेका हुन् । सभामुख घिमिरेलाई बैठकको निर्णयबारे जानकारी दिन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे संसद भवन नयाँबानेश्वर पुगेका थिए ।
सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री प्रचण्डले सोमबार पनि राष्ट्रिय दलका शीर्ष नेताहरूसँग छलफल गर्ने तय भएको छ । एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन माग गर्दै १० साउनयता संसंसदमा अवरोध गर्दै आएको छ ।