काठमाडाैं । मुलुकको तेस्रो उपराष्ट्रपति पदको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो । मतदानमा तीन सय ११ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्य गरी ८२९ जनाले मतदान गरे । संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका २१ जना अनुपस्थित भएका थिए ।
बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म भएको थियो । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ सांसद र प्रदेशसभाका पाँच सय ५० प्रदेशसभा सदस्य मतदाता छन् । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ ।
उपराष्ट्रपति निर्वाचनमा सहभागी नभएका सांसद
जन्डिसको समस्याका कारण चीनमा उपचाररत माओवादी उपमहासचिव वर्षमान पुनले पनि मतदानमा भाग लिन पाएनन् । त्यसैगरी मधेश आन्दोलनका क्रममा प्रहरी हत्या आरोप लागिरहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी पनि मत हाल्न आएनन् ।
त्यसैगरी कांग्रेस सांसद चन्द्र भण्डारी पनि मतदानमा सहभागी भएनन् । उनी एलपी ग्यास विस्फोटमा घाइते भएर अहिले भारतको मुम्बईमा उपचाररत छन् । त्यसैगरी अर्की सांसद मनोरमा शेरचन पनि बिरामी भएकाले मतदानमा सहभागी हुन आइनन् ।
अर्कातिर फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भइसकेकाले रामचन्द्र पौडेलले पनि मतदान गर्न पाउँदैनन् । उनको सांसद पद नै रिक्त भएर अब तनहुँ १ मा उपनिर्वाचन हुनेछ । मतदाता सूचीमा रहेकी जनता समाजवादीकी सांसद सहनाज रहमानको पनि मृत्यु भइसेको छ ।
उपराष्ट्रपति निर्वाचनमा सहभागी नभएका सांसद
१. रामचन्द्र पौडेल-राष्ट्रपतिमा निर्वाचित
२. चन्द्र चण्डारी (बिरामी)
३. बर्षमान पुन (बिरामी)
४. सनाज रहमान (मृत्य)
५. लक्ष्मी कोइरी महतो (फरार)
६. मनोरमा शेरचन (बिरामी)
दलतर्फ
१. राप्रपा संघ १४, प्रदेश २८ गरी जम्मा ४२ जना
२. नेमकिपा संघ १, प्रदेश ३ गरि जम्मा ४ जना
संघमा २१ जना र प्रदेशमा ३२ जनासहित जम्मा ५३ जना मतदानमा सहभागी भएनन् ।