काठमाडौं । 'जनयुद्ध दिवस'मा बिदा दिने र यो दिवस मनाउन मन्त्रिपरिषदले गरेको निर्णय विरूद्धको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश दिएको छ ।
बुधबार न्यायाधीश हरि फुयालकाे इजलासले उक्त आदेश दिएको प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
रामेछापका कल्याण बुढाथोकी लगायत द्वन्द्वपीडितहरूले 'जनयुद्ध दिवस' खारेज गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट पेश गरेका थिए ।
सरकारले गत फागुन १ गते 'जनयुद्ध दिवस' का दिन सार्वजनिक बिदासमेत दिएको थियो ।
मन्त्रिपरिषदले आगामी वर्ष पनि फागुन १ गते 'जनयुद्ध दिवस' मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
'जनयुद्ध दिवस' लाई उत्सवका रूपमा सरकारले मनाउन लागेको भन्दै आलोचनासमेत भएको थियो ।