काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफू आजबाट तारेखमा रहेको जानकारी गराएका छन् । सर्वोच्च अदालतले दिएको तारेखपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मेयर बालेन्द्रले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू ‘अपराधी’ हुन पुगेको पनि उल्लेख गरेका छन् ।
‘आज एउटा विशेष दिन, आजबाट म तारेखमा छु,’ उनले लेखेका छन्, ‘भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो। भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा म आजबाट अपराधी ।’
यसअघि मेयर शाहविरुद्ध परेको अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको थियो । मेयर शाहविरुद्ध परेको रिटको गत मंगलबार सुनुवाइ गर्दै गत असार १२ गते सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद आचार्यको एकल इजलासले लिखित जवाफ माग गरेको थियो ।
भारतीय चलचित्र आदीपुरुष विवाद बढ्दै गएपछि मेयर शाहले गत बिहीबार सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको बताएका थिए ।
त्यसपछि पनि मेयर बालेन्द्रले सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै दिल्लीको आदेश मान्ने सांसदको बहुमत सरकारमा रहेको बताएका थिए ।