काठमाडाैं । संघीय संसदका दुवै सदनले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै बैठकमा नेम्वाङको निधनको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
साथै, उनको सम्मानमा दुवै सदनमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेम्वाङको७१ वर्षको उमेरमा २०८० साल भदौ २६ गते निधन भएकोमा गहिरो शोक प्रकट गरेको बताएका थिए ।
‘नेपालको वर्तमान संसद र संसदीय राजनीतिमा समन्वयकारी भूमिका खेल्ने कार्यमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो। उहाँको देहावशानको यस दुःखद घडिमा प्रतिनिधि सभाको यो बैठक सुवासचन्द्र नेम्वाङ्गको निधनप्रति गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गर्दछ र शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ,’ सभाामुख घिमिरेले बैठकमा शोक प्रस्ताव पारित गर्नुअघि भनेका छन् ।