दोहोरो सुविधा कटौती गर्ने प्रज्ञा प्रतिष्ठानको निर्णय

दर्पण दैनिक १५ फाल्गुन २०७९,१९:४२
post

काठमाडाैं । नेपाल प्रज्ञा प्रतिष्ठानले दोहोरो सुविधा लिइरहेका आफ्ना आजीवन सदस्यहरूलाई दिइदै आएको मासिक पारिश्रमिक कटौती गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले सो निर्णय गरिएको जानकारी गराएको हो । प्राज्ञहरूबाटै उन्नत नैतिकताको पाठ सिकाउन आफूहरूले सो निर्णय गर्नुपरेको प्रतिष्ठानका कुलपति भूपाल राईले बताए ।

‘यो नैतिकतासँग पनि गाँसिएको विषय हो । दोहोरो सुविधा लिने भन्ने कुरा चाहिँ के हो भने जति भेटे पनि जहाँ भेटे पनि खानैपर्ने प्रवृत्ति नेपाली प्रवृत्तिको रूपमा देखा पर्‍यो । यो प्रवृत्ति नैतिकतासँग पनि गाँसिएको विषय हुनाले पनि अब नेपाल प्रज्ञा प्रतिष्ठानले चाहिँ यही हाम्रो कार्य समितिको समयबाट यो कामको सुरुवात गरौँ भन्ने निर्णय गरेको हो,' राईले भने, 'किनभने यो त प्रज्ञा प्रतिष्ठान हो । यसले हामीलाई संस्कार सिकाउँछ । भाषा, साहित्य र संस्कृतिको कुरा मात्रै होइन । यसले त मानवीय संस्कृति पनि सिकाउँछ । नेपाली हुनुको उन्नत नैतिकता पनि सिकाउ, उदाहरण पनि दिऊ भनेर हामीले आफूले पनि सो घोषणा गरेका छौँ ।'

उनले दोहोरो सुविधा लिएका आजीवन सदस्यहरूलाई दिइएको पारिश्रमिक रोकेर त्यसबाट बचेको रकम प्राज्ञिक क्षेत्रमा, सिर्जनशील क्षेत्रमा लगानी गर्ने योजना रहेको राईको भनाइ छ । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरूले आफूहरूले पनि राज्यबाट दोहोरो सुविधा नलिने घोषणा गरेका थिए । नेपाली हुनुको उच्च नैतिकता सिकाउन आफूहरूले नै यस्तो निर्णय लिएको कुलपति राईले बताए ।

'अब हामी एउटा प्रक्रियामा जान्छौँ दोहोरो सुविधा लिनेहरू को–को हुनुहुन्छ ? त्यो त अवश्य थाहा हुन्छ नि । २० जनालाई यो हाम्रो एकेडेमीको स्रोतबाट बाँड्दा खेरी १ करोड २० लाख भन्दा बढी हुन्छ वार्षिक,' राईले भने, 'यसमा सरदर आदी मात्रै बच्यो भने पनि अथवा आदी मात्रै त्यो स्रोत दोहन गर्न दिइएन भने हामीले त्यो रकम एउटा प्राज्ञिक क्षेत्रमा राम्रै ढंगले काम गर्न सक्छौँ । प्राज्ञिक क्षेत्रमा, सृजनशील क्षेत्रमा लगानी गर्नेवाला छौँ ।’

हाल प्रतिष्ठानमा आजीवन सदस्य रहेकाहरूले ५१ हजार ४४७ रुपैयाँ मासिक पारिश्रमिक लिँदै आएका थिए । प्रतिष्ठानबाट वार्षिक करिब १ करोड २० लाख दोहोरो सुविधा लिने गरेकोमा यसलाई कटौती गरेर बचेको बजेटले प्राज्ञिक क्षेत्रमा नै केही गरौँ भन्ने भावना रहेको पनि प्रतिष्ठानले जनाएको छ ।

प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतीले जाँदाजाँदे आजीवन सदस्यलाई भत्ता दिने निर्णय गराएका थिए । आफूलाईसमेत जीवनभरि प्रत्यक्ष लाभ हुने गरी उप्रेतीले गराएको उक्त निर्णयको व्यापक आलोचना भएको थियो । प्रज्ञा प्रतिष्ठनको अहिलेको नेतृत्वले उप्रेतीका पालमा भएको उक्त निर्णय सच्याएको हो ।

त्यसैगरी प्रतिष्ठानका परिषद् सदस्यहरूको कार्य विभाजन पनि गरेको छ । जसअनुसार कुलपति राईलाई संस्कृति, लोकवार्ता तथा मौलिक इतिहास विभागको जिम्मेवारी दिइएको छ । त्यसैगरी बाल साहित्य विभागको जिम्मेवारी उपकुलपति विमल निभा, साहित्य डा. मधुसुदन गिरी, दर्शनशास्त्र विभाग डा. कृष्णराज अधिकारी, साहित्य (मातृभाषा) प्राज्ञ राजन मुकारुङ, साहित्य पद्य/काव्य विभागको जिम्मेवारी बाबा बस्नेतलाई दिइएको छ ।

प्रा. डा. कौशिला रिसाललाई सामाजिकशास्त्र, हंसावती कुर्मीलाई अनुवाद, अमर न्यौपानेलाई साहित्य (गद्य), त्रैलोक्यमान बनेपालीलाई भाषा (मातृकोष, कोश र व्याकरण), र सदस्य सचिव डा. धनप्रसाद सुवेदीलाई भाषा (कोष र व्याकरण) विभाग हेर्ने जिम्मेवारी दिने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७