काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशका लागि एक जना खाली राखेर ६ जनाको नाम सिफारिस गरिएको छ । न्यायपरिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका एक मात्र मुख्य न्यायाधीश नृपध्वज निरौलालाई छुटाएर अन्यलाई सिफारिस गरेको छ ।
उच्च अदालतका न्यायाधीश सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुलअजिज मुसलमान न्यायाधीशमा सिफारिस भएका छन् । त्यस्तै कांग्रेसको कोटाबाट नेपाल बारका पूर्वमहासचिव सुनिल पोखरेल र बालकृष्ण ढकाल पनि न्यायाधीश सिफारिस भएका छन् । माओवादी कोटाबाट न्यायाधीश सिफारिस हुने भनिएका महान्यायाधिवक्ता दिनमणि पोखरेल भने यस पटक छुटेका छन् । तर, सर्वोच्चको एक न्यायाधीश भने खाली राखिएको छ ।
न्यायाधीश सिफारिस भएकामध्ये पोखरेल र ढकाल कानून व्यवसायीबाट हुन् । ढकाल वामपन्थी पृष्ठभूमिका वकिल हुन् । निरौलालाई भने प्रतिशोध साँधेर सर्वोच्चको न्यायाधीशमा सिफारिस नगरिएको हो । उनी चोलेन्द्रशमशेर जबराका पालामा मुख्य न्यायाधीश भएका थिए । ७ मध्ये ६ मुख्य न्यायाधीश खाली छन् । उनी वरीयताका आधारमा र परिषद्ले बनाएको पछिल्लो मापदण्डका आधारमा पनि एक नम्बरमा सिफारिस हुनुपर्ने थियो ।
कांग्रेस कोटाबाट बरिष्ठ अधिवक्ता मेघराज पोखरेल, बिजय मिश्रा, सरिता शर्मालगायत दाबेदार थिए । उच्च अदालतका बरिष्ठतामा पहिलो नम्बरमा रहेका सत्यमोहन जोशी थारुलाई छुटाएर दोस्रो नम्बरकी सारंगा सुवेदीलाई सिफारिस गर्दा बरियतामा माथि रहेका रमेश प्रसाद राज भण्डारी, श्रीकान्त पौडेल,लोहितचन्द्र शाहलगायत पनि छुटेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google