काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खुला आह्वानमार्फत् राजदूत बन्न सात जनाको नाम छानेको छ । रास्वपाले राजदूतहरुको सिफारिसका लागि सम्भावित नाम सुझाउन अनलाइन फारम र ईमेलमार्फत् आह्वान गरेकामा २४० जनाको आवेदन परेको थियो ।
जसबाट सात जनाको समावेशी सूची तयार पारिएको सांसद शिशिर खनालले जानकारी दिएका छन् ।
‘नेपाल र विदेशमा ख्याती कमाउनु भएका विभिन्न विधाका प्रतिष्ठित नाममाथि रास्वपा अन्तर्राष्ट्रिय विभागको तर्फबाट सात जनाको समावेशी सूची पार्टी सभापति रवि लामिछानेलाई बुझाइएको छ,’ खनालले भने ।
अन्तिम सूचीमा रहेका व्यक्तित्वहरूसँग आवश्यक छलफल गरी प्रस्तावित दुई जनाको नाम तय गर्न सभापति लामिछानेले पार्टी उपसभापति स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिएको उनले बताए ।
समितिले संयुक्त राष्ट्र संघका लागि पूर्व स्थायी प्रतिनिधि (राजदूत) प्रा.डा. जयराज आचार्यसँग आवश्यक परामर्श गर्नेछ ।
सत्ता गठबन्धनले रिक्त राजदूतहरूका लागि भागबण्डा गरेको थियो । केही दिनअघि नेकपा (एमाले) को कोटाबाट पाँच जना, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका तर्फबाट दुई जना र माओवादी केन्द्रबाट एक जना राजदूत सिफारिस भइसकेका छन् । रास्वपाले आफ्नो भागमा परेको दुई जना राजदूत छान्न सार्वजनिक आह्वान गरेर सुझाव मागेको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google