काठमाडौं । विश्वमै सबैभन्दा धेरै सब्सक्राइबर भएका सेलिब्रेटी युट्युबर मिस्टर बिस्टले नेपालको एक अस्पताल मर्मतसम्भार गरेका छन्। गत डिसेम्बरमा उनको टिम नेपाल आएको थियो । बिस्टले हालै भिडियो सार्वजनिक गर्दै आफ्नो टिमले सिन्धुलीको फिक्कल गाउँपालिकामा गरेको कामको बारेमा जानकारी दिएका छन् ।
भिडियोमा जाडो र औषधोपचारको अभावमा बच्चा गुमाएकी स्थानीय महिला नीराको मर्मस्पशी कथा देखाइएको छ । निर्माणाधिन अस्पताल र स्वास्थ्यकर्मीलाई पनि देखाइएको छ । बिस्टको समूह र ‘गिभ पावर’ नामक सामाजिक संस्थाले उक्त अस्पतालको मर्मत कार्य अघि बढाएको हो । बायोमेडिकल इन्जिनियर सञ्जबहादुर सिंह ठकुरीसँग मिलेर उनीहरुले मर्मतको काम अघि बढाएका थिए ।
उक्त अस्पतालमा प्रसूति सेवा पनि उपलब्ध हुन्छ अहिले । ड्यारेन मार्गोलिस नामक बिस्टको टिमका एक सदस्यले नेपालको हिमाली क्षेत्रमा पाइने लोकल चियाको प्रशंसा गरेका छन् । बेवारिसे अस्पताललाई सुविधासम्पन्न अस्पतालमा रुपान्तरण गरेको दृश्य भिडियोमा छ । यो अस्पतालबाट १६ हजार मानिस लाभान्वित हुने भनिएको छ । भिडियोमा गाउँको अस्पतालमा गाउँले भेला भएर पहिलोपटक बत्ती बलेको दृश्य पनि देखाइएको छ ।