भरतपुर अस्पतालमा बिरामीको अर्को ब्यथा : डाक्टर भेट्नै चार दिन

दर्पण दैनिक २५ चैत्र २०७९,०७:०१
post

भरतपुर । भरतपुर महानगरपालिका–१७ का वृद्ध मानबहादुर शाही विगत चार दिनदेखि भरतपुर अस्पतालको बहिरंग सेवामा रुमलिइरहेका छन् । शुक्रबार बहिरंग विभागमा भेटिएका उनले मिर्गौलाको पत्थरी झिक्नका लागि धेरै दुःख पाएको गुनासो गरे । उनले भने, ‘लाइन बसेर टिकट काटेर डाक्टर भेट्नै चार दिन लाग्यो’, उनले गुनासो गर्दै भने, ‘सिस्टम भएन, कर्मचारी थोरै भए सुधार गरेर लैजानुपर्छ ।’ मिर्गौलामा पत्थरी भएको र शल्यक्रिया गर्नुपर्ने चिकित्सकले जनाएपछि अब कहिले शल्यक्रिया हुने हो अझै टुंगो नलागेको उनले बताए । 

अस्पतालमा शल्यक्रियाका लागि महिनौँ पालो कुर्नुपर्ने अर्को बाध्यता रहेको छ । भरतपुर महानगरपालिका–७ का सुनील ढकाल मर्किएको हातको एक्स–रे गर्न बिहीबारदेखि अस्पतालकै बहिरंग सेवामा घुमिरहेका छन् । उनले भने, ‘आज एक्स–रे गर्न पाए आइतबार डाक्टरलाई देखाउँथे ।’ उनले एक्स–रे गरेर रिपोर्ट देखाउन मात्रै तीन दिन समय लाग्ने बताउँदै भिड नियन्त्रण नहुँदा समस्या भएको बताए उनको गुनासो छ, ‘चिकित्सक कर्मचारी आफ्नो मान्छे भए भित्रबाट फटाफट काम हुँदोरहेछ, सर्वसाधारणलाई सास्ती ।’

उनी जस्तै बिहीबार आमाको उपचार गर्न माडीबाट आएका देवराज बरालको गुनासो पनि उस्तै छ । यी प्रतिनिधि पात्र मात्रै होइन, अस्पताल आउने धेरैको अवस्था यस्तै छ ।
अस्पतालमा भौतिक पूर्वाधार निर्माण र उपकरण पर्याप्त भएर पनि सर्वसाधारणले सहज सेवा पाउन सकेका छैनन् । सामान्य बहिरंग सेवा (ओपिडी) सेवा लिनसमेत चार दिनसम्म धाउनुपर्ने बाध्यता अस्पतालमा छ । अस्पताल केन्द्रीय भएसँगै सहज उपचार सेवा पाउने आमनागरिकको अपेक्षाअनुरुपको सेवा अझै अस्पतालले दिन सकेको छैन ।

विशेषज्ञता हासिल गरेका चिकित्सक भेट्न बिरामीलाई मुस्किल पर्ने गरेको छ । सरकारी अस्पताल भए पनि कतिपय शुल्क निजीसरह छन् भने बिमामार्फत पाउनुपर्ने औषधि अस्पतालले खरिद नगर्दा बिरामीले नगदमा खरिद गर्न बाध्य छन् ।

आफ्ना आफन्तको उपचारका लागि आएका जोकोहीलाई भेटेर सोध्दै गर्दा सेवामा गुनासैगुनासा सुन्ने गरिन्छ । पत्रकार रमेशकुमार पौडेलले विगतको तुलनामा केही सुधार हुँदै गए पनि सुधार गर्नुपर्ने धेरै विषय रहेको बताए। स्वास्थ्यकर्मीले बिरामीले खोजेको जस्तै व्यवहार पनि पाउँदैनन् ।’ उनले राती ९ बजेपछि भिडियो एक्स–रे गर्न अस्पताल बाहिर जानु परेको गुनासो गरे ।

अस्पतालको बहिरंग सेवामा मेडिकल अधिकृत राख्ने र अतिरिक्त शुल्क लिएर विशेषज्ञले परीक्षण गर्नेक्रम बढ्दो छ । बिरामीलाई अतिरिक्त शुल्क लिन बाध्य पार्ने गरिएको जनाइएको छ । बिमाका बिरामीले जनरलमा टिकट काटेर परीक्षणपछि नगद पाँच सय रुपैयाँ तिरेर अतिरिक्त सेवा (इएचएस) लिन बाध्य पारिने गरिएको छ ।

बिमामा १ हजार ७८ प्रकारका औषधि उल्लेख भए पनि अस्पतालले समयमा खरिद नगर्दा न्यून संख्यामा मात्रै पाइने गरेको छ । यसका कारण बिरामी औषधि खरिदका लागि बाहिर जान बाध्य छन् । अस्पतालका सबैजसो विभागमा समस्यै समस्याका चाङ छन् । समस्या समाधानतर्फ अस्पताल प्रशासन नलागेको गुनासो सुन्ने गरिन्छ ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष राजु पौडेल जनशक्ति र पूर्वाधार थप नगरेसम्म सेवा सुधार गर्न नसकिने उल्ल्लेख गरे । गुनासा र समस्या रहेको स्वीकार्दै उनले सरकारको १ सय ५० शय्याको जनशक्तिमा ६ सय शय्या चल्दा समस्या भएको बताए ।

मन्त्रालयले ‘ओएनएम सर्भे’ गरेर १ हजार ८७ दरबन्दी आवश्यक पर्ने उल्लेख गरे पनि नीतिगत निर्णय भएर कार्यान्वयनमा नआएका कारण समस्या रहेको उनको भनाइ छ । समयमा औषधि खरिद गर्न नसक्दा बिमाको सबै औषधि बिरामीले पाउन नसकेको सञ्चालक समितिका अध्यक्षले बताए । अस्पतालका कतिपय चिकित्सक–स्वास्थ्यकर्मी र कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगर्ने र प्रशासनिक निकायको निर्देशन पालना नगर्दा अस्पतालमा समस्या आउने गरेको छ ।


 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: