मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीकाे निर्णय

दर्पण दैनिक ९ मंसिर २०८१,१९:४१
post

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दाताका परिवारलाई एक लाख थप गरी दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका हुन् । 

अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार थप गरेर ७५ हजार रुपैयाँ पुर्‍याएको छ । उक्त निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नेगरी सहमति दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


स्वास्थ्यमन्त्री पौडेल स्वयंले पनि यसअघि मृत्युपश्चात् अंग दान गर्ने घोषणा गरिसकेका छन् । देशभर हरेक वर्ष मिर्गौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अंग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका केन्द्रले जनाएको छ ।

विद्यमान कानुनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्ने बाहेकले अंगदान गर्न पाउँदैनन् । मृत्युपश्चात् भने अंग दान गर्न पाउने व्यवस्था छ । मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अंग अरू जीवित व्यक्तिलाई प्रत्यारोपण गर्न सकिन्छ ।

हाल भक्तपुरको सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले देशमा बर्सेनि दुई सय मिर्गौला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ । यो कूल अंग प्रत्यारोपणको झण्डै ७० प्रतिशत हो । वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालसँगै केही निजी अस्पतालले समेत अंग प्रत्यारोपण गर्दै आइरहेका छन् ।

मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले स्वास्थ्यमन्त्री पौडेलको यो निर्णय सकरात्मक रहेको बताए । 'एक वर्षमा हजारौँ मानवको मष्तिष्क मृत्यु हुन्छ । एक जनाबाट आठ वटा अंग प्राप्त हुन्छ । जनचेतनाको अभाव, अस्पतालसम्मको पहुँच नहुनुलगायत विभिन्न कारणले दान दिने परिवार कम छन् । अंग दानले कसैको ज्यान बच्नुका साथै आर्थिक सहायता पनि हुन्छ', उनले भने ।

केन्द्रका अनुसार हालसम्म पाँचजना मष्तिष्क मृत्यु भएकाबाट १० वटा मिर्गौला र तीन वटा कलेजो प्रत्यारोपण गरिएको छ । यथाशीघ्र मुटु र फोक्सो प्रत्यारोपणको पनि तयारी भइरहेको डा श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाल एक हजार बढी मिर्गौला तथा ५५ जना कलेजोका दाता प्राप्तिको प्रतिक्षामा छन् ।

सरकारले मानव अंग प्रत्यारोपण नियमावली, २०७३ जारी गरी मस्तिष्क मृत्यु (ब्रेनडेथ) भएका व्यक्तिको अंग झिकी जीवित व्यक्तिमा प्रत्यारोपण गर्नसक्ने व्यवस्था गरेको छ ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: