सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा नम्बर ५ छिरिङखर्कमा अवस्थित श्री महादेव आधारभूत विद्यालयमा कार्यरत शिक्षकशिक्षिका, कर्मचारी एवं अध्ययनरत छात्रछात्राहरूलाई विद्यालय पोषक (ट्र्याकसुट ) साथै शैक्षिक सामग्री वितरण गरिएको छ । सोही विद्यालय पोसाक एवं शैक्षिक सामग्रीहरू स्थानीय समाजसेवी छिरी शेर्पाले विद्यालयलाई हस्तान्तरण गरेसँगै वितरण गरिएको हो ।
सहयोगी दाता छिरी शेर्पाले आफू जन्मेको ठाउँमा नै सहयोग गर्न पाउँदा आफू खुसी भएको बताउँदै विद्यालयमा अध्ययन गरेका कुराहरू घरमा गएर पनि अभ्यास गर्न विद्यार्थीहरूलाई आग्रह गरेका छन् । उनले शिक्षा विद्यालय वा अन्य ठाउँबाट सिक्न सक्ने भएपनि संस्कार घरबाट नै सिकाउनुपर्नेमा जोड दिए । त्यस्तै उनले समय तालिका बनाएर विद्यार्थीहरूले अध्ययन गर्नुपर्ने बताए । त्यस्तै छिरी शेर्पाले आगामी दिनमा पनि विद्यालयलाई विभिन्न किसिमका सहयोग गर्ने बताए ।
विद्यालयकी प्रअ सोममाया तामाङले आफूले टुकीबत्ती बालेर पढेको अवस्था सम्झिदै अहिले त्यस्तो अवस्था नरहेको र बिजुली बत्तीको व्यवस्था भएकोले पढ्नलाई विद्यार्थीहरूले ध्यान दिनुपर्ने बताइन् । उनले सहयोगीदाता छिरी शेर्पालाई आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै विद्यालय परिवारको तर्फबाट धन्यवाद व्यक्त गरिन् ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज विश्वकर्माले पोशाक नहुँदाखेरि कहिलेकाहीँ आफू विद्यालय जानबाट नै वञ्चित स्मरण गरे । अध्यक्ष विश्वकर्माले आधारभूत तहबाट नै पढाइ राम्रो हुनुपर्ने र भविष्यमा गएर सामुदायिक विद्यालयमा पढेका व्यक्तिहरु नै असल शिक्षक, इन्जिनियर, पाइलट, डाक्टर साथै कुशल राज्य सञ्चालक हुनेमा आफू विश्वस्त रहेको बताए ।
पोसाक तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा शिक्षिका माया थामीले स्वागत मन्तव्य राखेकी थिइन् । अभिभावक, विद्यार्थी तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । विद्यालय पोषक तथा शैक्षिक सामग्री पाउँदा विद्यार्थीहरू खुसी देखिएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google