आधारभूत तहका शिक्षकलाई रीड नेपालले दियाे क्षमता अभिवृद्धि तालिम

दर्पण दैनिक १९ माघ २०७९,१४:३१
post

सोलुखुम्बु । गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता भन्ने मुल उद्देश्य लिएर अगाडी बढीरहेको ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड) नेपालद्वारा लिखुपिके गाउँपालिकामा सञ्चालित पाँचदिने तालिमको आज समापन भएको छ । गत १५ गतेदेखि १९ गते (आज) सम्म हिमागङ्गा माध्यमिक विद्यालय चौलाखर्कमा पाँचदिने आधारभूत तह शिक्षक क्षमता अभिवृद्धि तालिम रीड नेपालले संचालन गरेको थियो । 

समाप्न कार्यक्रममा लिखुपिके गाउँपालिकाका शिक्षा संयोजक रेखराज बस्नेतले तालिम गर्ने तर विद्यालयमा गएर त्यसको प्रयोग नगर्ने हो भने तालिमको औचित्य नहुने बताए । संयोजक बस्नेतले आफुलाई दोधार भएका  कुरालाई सोधेर बुझेर मात्रै कक्षा कोठामा छिर्न अनुरोध गरे । उनले आफ्नो पेशालाई सानो नठान्न आग्रह गर्दै बालबालिकाको भविष्य शिक्षक शिक्षिकाको हातमा हुने बताए । उनले पाठ्यक्रम, मुल्यांकन फाराम विद्यालयमा अपुग भए शिक्षा शाखाले उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे । त्यस्तै शिक्षा संयोजक बस्नेतले सबै विद्यालयका विद्यालय व्यवस्थापन समितिले राम्रो गरे लिखुपिके गाउँपालिका शैक्षिक क्षेत्र समृद्ध हुन सक्ने धारणा व्यक्त गरे । 

महिला प्रशिक्षार्थीको प्रतिनिधित्व गर्दै शिक्षिका रमिला बस्नेतले  आफुले सिकेका कुरा सयमा सयमा नै लागु गर्ने प्रतिबद्धता गरिन । शिक्षिका बानेतले तालिममा सिकेका कुरा विद्यार्थीको क्षेमता अनुसार लागु गर्ने बताइन् । त्यस्तै पुरुष प्रशिक्षार्थीको प्रतिनिधित्व गरेर शिक्षक मिथुन बस्नेतले समयानुकूल तालिम आएको अनुभव सुनाउदै रीड नेपालबाट सिकेका कुरा लागु गर्ने बताए । 

कार्यक्रममा हिमागङ्गा माध्यमिक विद्यालयका अध्यक्ष नारायण बस्नेतले लिखुपिके गाउँपालिका भित्र रहेका २२ वटै विद्यालयमा आवद्ध शिक्षक शिक्षिकाहरुले तालिमबाट सिकेका कुरालाई व्यवहारमा पनि लागु गर्नेमा आफु विश्वस्त रहेको बताए । त्यस्तै पत्रकार विष्णु खड्काले रीड नेपालले दिने तालिमको प्रंशशा गर्दै आफु पनि शिक्षण पेसामा भएको भए यो तालिम लिने बताए । पत्रकार खड्काले शैक्षिक सामाग्री नभएको विद्यालयहरुमा शिक्षा शाखा तथा गाउँपालिकाको ध्यान जान आवश्यक रहेको बताए । 

लिखुपिके गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले डाक्टर, पाइलट इन्जिनियर लगायतका दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षक शिक्षिका भएकोले समाजमा सबैभन्दा विद्वान शिक्षक शिक्षिका हुने बताइन् । त्यस्तै अध्यक्ष कार्की बस्नेतले विद्यालयको शैक्षिक गुणस्तर गर्न  सबैभन्दा महत्त्वपूर्ण भुमिका प्रअको हुने बताइन । उनले विगतका दिनमा छड्के निरीक्षण गर्दै आएको र आगामी दिनमा पनि छड्के निरीक्षण निरन्तर गरिने जानकारी दिइन । अध्यक्ष बस्नेतले विद्यालयमा खाली समय शिक्षक शिक्षिकाले आफ्नो विषयलाई राम्रो बनाउन राखिएको बताईन । त्यस्तै उनले आफ्नो पेशालाई मर्यादित हुन ध्यानाकर्षण गराएकी छिन ।

सोही कार्यक्रममा लिखुपिके गाउँपालिका भित्र रहेका विभिन्न  विद्यालयमा अध्ययनरत १५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो । वार्षिक ९ हजारका दरले दिने गरेकोमा यसपाली देखि ४ हजार पाँच सय रुपैयाँ बराबरको शैक्षिक सामाग्री दिने र बाँकी नगद दिने गरेको इन्चार्ज सुजता राईले जानकारी दिईन । त्यस्तै तालिम सञ्चालन गर्न सहयोग गर्ने लिखुपिके गाउँपालिका, हिमागङ्गा मावि र सबैलाई धन्यवाद दिदैँ राइले अब लिखुपिके गाउँपालिकामा रीड नेपालको तर्फबाट राजिव ढुंगाना रहेर सहजकर्ताको भुमिका निर्वाह गर्ने पनि जानकारी दिइन । 

समापन कार्यक्रमका संयोजक मुक्ति घिमिरेले तालिम सञ्चालनका लागि सहयोग गर्ने र सहभागी हुने सबै प्रशिक्षार्थीलाई आभार प्रकट गर्दै सिकेका कुरालाई कक्षाकोठामा कार्यान्वयन हुन्छ भन्नेमा विश्वस्त भएको बताए । समापन कार्यक्रममा तालिममा सहभागी हुने सबैअ प्रशिक्षार्थी शिक्षक शिक्षिकाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: