
सन्तोष दहाल, ललितपुर । दक्षिणपूर्वी ललितपुरको महाङ्काल गाउँपालिका ६, ठुलादुर्लुङ स्थित गुमराङमा अवस्थित गुमराङ आधारभूत विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको छ । ५०औँ वर्षमा प्रवेश गरेको अवसरमा विद्यालयले भव्य समारोहका बीच तीन दिवसीय स्वर्ण महोत्सव आयोजना गरेको छ ।
२०३० सालमा स्थापित यस विद्यालयले यही माघ ११, १२ र १३ गते स्वर्ण महोत्सव मनाउन लागेको विद्यालयका प्रधानाध्यापक विदुर दाहालले जानकारी दिएका छन् । २०३० साल माघ २१ गते कक्षा १ देखि ३ सम्म अध्यापनको स्वीकृति पाएको उक्त विद्यालयले स्वर्ण महोत्सव कार्यक्रम भव्य अनि सभ्यरुपमा सम्पन्न गर्नका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । हाल विद्यालयमा कक्षा ८ सम्म अध्ययन अध्यापन हुन्छ ।
स्वर्ण महोत्सव पश्चात विद्यालयमा छात्रवृत्ति अक्षयकोषको स्थापना गर्ने, इ–लाईब्रेरीको व्यवस्था गर्ने, एक शिक्षक( एक ल्यापटप, सोलारबत्ती,घेराबार तथा खेलमैदान निर्माण,आवश्यक खेलकुद सामग्री खरिद,हरित विद्यालय अभियान, संगीत शिक्षा सञ्चालनका लागि आवश्यक सामग्री खरिद, सरस्वती मन्दिर स्थापना,कम्प्युटर ल्याब स्थापना लगायतका योजना रहेको प्रधानाध्यापक दाहालले जानकारी दिएका छन् ।
२०२९ सालमा तत्कालीन जिल्ला शिक्षा कार्यालयका एक प्रतिनिधि उक्त स्थानमा विद्यालय स्थापना गर्ने सम्बन्धमा निरीक्षण गर्न गएकोमा निरीक्षण पश्चात विद्यालय स्थापनाको आवश्यकता महसुस गरी २०३० सालमा ३ कक्षासम्मको अध्यापन अनुमति दिईएको थियो र लगत्तै विद्यालयमा एक सरकारी कोटा र शिक्षक दरबन्दीको व्यवस्था गरिएको थियो । त्यसअघि गुमराङ गाउँमा विद्यालय शिक्षाको अवधारणा र सुरुवात कसरी भयो भनेर स्थानीय बुढापाकासँग बुझ्दा त्यतिखेर गाउँको सालघारी वनमाथी एउटा कटुसको स्याउलाको छाप्रो हाली विद्यालय जाने उमेरका केटाकेटीहरु जम्मा पारेर पढाउने गरिएको ईतिहास पाईन्छ ।
उतिबेला शिक्षकलाई पारिश्रमिक स्वरुप प्रत्येक घरधुरीबाट एकरएक पाथी रासन–अन्न दिने चलन थियो । पछि उक्त स्थानबाट सारेर विद्यालयलाई गुमराङ खोलानजिकै स्थानान्तरण गरियो । भौतिक पूर्वाधार विहीन छाप्रोकै रुपमा रहेको उक्त विद्यालयलाई २०२८ सालमा बाढीले नोक्सान पुर्याएपछी स्थानीय अभिभावकहरुबीच छलफल गरि विद्यालयलाई हाल रहेको स्थानमा सारी सञ्चालन गरिएको बताईन्छ । उतिबेलासम्म कुनै पनि तहबाट विद्यालयका लागि सरकारी स्रोत साधनको व्यवस्था भएको थिएन ।
विद्यालयलाई तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट अध्यापन अनुमती प्राप्त भएको मितिले ५० वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव मनाउन लागिएको हो । तीन दिने स्वर्ण महोत्सवको माघ ११ गते ललितपुर क्षेत्र नं १ का संघीय सांसद उदय समशेर राणाले उद्घाटन गर्ने र १३ गते पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले समापन गर्ने आयोजकले जानकारी दिएको छ ।
स्वर्ण महोत्सव अन्तर्गत सांस्कृतिक कार्यक्रम, विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट मनोरञ्जनात्मक प्रस्तुती,स्मारिका बिमोचन, सम्मान,खेलकुद,शैक्षिक सामग्री प्रदर्शनी,मन्तव्य,पुरस्कार वितरण लगायतका कार्यक्रम रहेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google