ललितपुर । विश्व स्तनपान सप्ताहको अवसरमा साउन २० गते ग्रामीणा सामुदायिक संस्था विकास (रिकोड)को आयोजना तथा गोदावरी नगरपालिका, वडा कार्यालय र नागरिक आवाजसँगको समन्वयमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष अगष्ट १ देखि ७ तारेखसम्म विश्व स्तनपान सप्ताह मनाउने गरिएको छ । विश्वभर मनाइने स्तनपान सप्ताहले आमाको दूधको फाइदाबारे जनचेतना जगाउने र स्तनपानलाई प्रवर्धन गर्ने विश्वास गरिएको छ ।
सन् २०२३ मा विश्व स्तनपान सप्ताहको विषयवस्तु स्तपान र काममा केन्द्रित छ । यस वर्षको नाराले कार्यस्थलमा स्तपानलाई वढावा दिन प्रेरित गरेको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिवद्धता’ भन्ने यसको मुख्य थिम रहेको छ ।
रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले स्तनपान नवजात शिशुको लागि नैसर्गिक अधिकारको रूपमा परिभाषित गरिएको जानकारी दिइन् । स्तनपानलाई र आमाको दूधलाई प्रतिस्थापन गर्ने सबै प्रकारका तयारी खाना र वस्तु विक्री वितरण नियन्त्रण ऐन २०४९ र नियमावली २०५१ मा प्रावधान रहेका उनले बताइन् । प्रसूति गृह वा अस्पतालहरूमा प्रारम्भिक स्तनपानलाई प्रवर्धन तथा स्थापित गर्न मातृ शिशुमैत्री कक्षको व्यवस्था गर्नुपर्ने अहिलेको आवश्यकता रहेको तिमल्सिनाको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार, ५० करोडभन्दा बढी कामदार महिलालाई राष्ट्रिय कानुनमा आवश्यक मातृत्व सुरक्षा दिइएको छैन । केवल २० प्रतिशत देशहरूले रोजगारदाताहरूलाई विश्राम र स्तनपानका लागि सुविधाहरू प्रदान गरेको विभिन्न अध्ययन हरुले देखाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google