स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’ को सेवा सुविधा बढ्यो

दर्पण दैनिक २८ असार २०८१,२०:१७
post

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जित गरेको छ ।  बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले विज्ञहरुको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दर कायम गरिएको बताए । उनका अनुसार सुविधाको नयाँ थैली आगामी साउन १ गतेदेखि लागू गरिनेछ । 

उनले लामो समयदेखि एउटै दरमा उपलब्ध सेवासुविधालाई समयानुकूल परिमार्जन गरिएको बताए । यसअघि आंशिक रुपमा परिमार्जन गरिए पनि यसपटक भने सबै सेवासुविधाको दर परिमार्जन गरिएको हो । नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमाअन्तर्गत १ हजार २ सय ९० प्रकारका औषधि रहेका छन् । 

अस्पताल टिकट रु ५० तोकिएको छ । शय्याको प्रतिदिन रु २ सय ५० राखिएको छ । यसअघि साधारण शय्याको रु २ सय थियो । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ५ जना परिवारसम्मका लागि रु ३ हजार ५ सय बराबरको योगदानका आधारमा रु १ लाखसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ । 

यस्तै थप प्रतिसदस्य रु सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा रु २ लाखसम्म तोकिएको छ ।

बीमा कार्यक्रममा कूल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार छ सय ७६ जना र कूल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना (२६ दशमलव ५४ प्रतिशत) रहेको छ । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: