मुटु रोगसम्बन्धी सेवाको विकेन्द्रीकरण गर्न जरुरी छ : राज्यमन्त्री कार्की

दर्पण दैनिक १५ माघ २०७९,१०:३०
post

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले गंगालाल अस्पतालका मुटु रोगसम्बन्धी सेवाहरुलाई विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छन् । आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अस्पतालका सेवाहरुलाई विकेन्द्रीकरण गरी प्रादेशिकस्तरमा पुर्‍याउनु अति आवश्यक देखिएको बताइन् । 

उनले गंगालाल अस्पतालका संस्थाहरु प्रादेशिक अस्पतालमा सेवा युनिटको रुपमा स्थापना सरकारले पहल गर्ने पनि बताइन् । १५ वर्ष मुनिका बालबालिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा र स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तारित गर्दै सम्पूर्ण रुपमा हरेक नागरिकले अनुभुत गर्नेगरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान चलाउनुपर्ने बताइन् । 

'अब गंगालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रीकरण गरेर प्रादेशिकस्तरमा पुर्‍याउनु अति आवश्यक देखिएको छ । गंगालाल अस्पतालका संस्थाहरु प्रादेशिक अस्पतालमा सेवा युनिटको रुपमा स्थापना गर्न चाहन्छौँ,' उनले भनिन्, '१५ वर्ष मुनिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा, स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तारित गर्दै अब सम्पूर्ण रुपमा हरेक नागरिकले अनुभूत गर्नेगरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान पनि ठूलो उद्देश्य छ ।' 
स्वास्थ्य राज्यमन्त्री कार्कीले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता दिने कुरामा सरकार सदैव साथमा रहने बताइन् ।
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: