
काभ्रे । बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिचाइमन्त्री तिर्थ लामाले देशको बिकासको लागि शिक्षा नीति राम्रो हुनुपर्ने बताएका छन् । बेलर इन्टरनेशनल एकेडेमीले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत र कक्षा १२ का विद्यार्थीलाई बिदाई गर्न आयोजित कार्यक्रममा मन्त्री लामाले देशको विकासको लागि शिक्षा नीति राम्रो हुनुपर्ने बताएका हुन् ।
मन्त्री लामाले शिक्षाले मानिसमा आत्मबल र व्यक्तित्व बिकास गर्ने भएकाले जस्तोसुकै दुख झेलेर भएपनि शिक्षा आर्जन गर्न सबैमा अनुरोध गरे । शिक्षा आर्जनको लागि आफुले धेरै नै दुख गरेको भन्दै मन्त्री लामाले एसएलसी पास गर्दाको अनुभव सुनाए ।
‘२०४९ सालमा मेरो वडाबाट एसएलसि पास गर्ने म एक जना मात्र हो, मेरो घरबाट स्कुल पुग्न ३ घन्टा लाथ्यो, धेरै दुख गरेर अध्ययन गरेको हो,’ मन्त्री लामाले भने, ‘जति दुख आएपनि आफ्नो लक्ष्यमा पुग्न म सबैमा अनुरोध गर्दछु ।’ समाज र मुलुक बदल्नको लागि देशको संविधान, प्रणाली, इतिहास बुझ्न आवश्यक रहेको भन्दै उनले त्यसकाे लागि योगदान गर्न अनुरोध गरे ।
असोज २४ देखि २६ गते सम्म औपचारिक कार्यक्रम आयोजना गरेर एकसाथ स्वागत र बिदाइ गरेको थियो । विद्यालयमा यो बर्ष बिज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ मा ६ सय २८ विद्यार्थी भर्ना भएर अध्ययनरत छन् । यो बर्ष बिज्ञान संकायतर्फ १ सय २ र व्यवस्थापन संकाय तर्फ २ सय ७६ विद्यार्थी कक्षा १२ उत्तीर्ण भएका थिए । ४ सय ४५ जना कक्षा १२ मा अध्यनरत छन् । कार्यक्रममा कक्षा १२ मा जिल्लामा नै उत्कृष्ट जिपिए ल्याउने बेलर इन्टरनेशनल एकेडेमीका छात्रा बिभिषा न्यौपानेलाई सम्मान गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, बनेपा नगरपालिका ७ का अध्यक्ष हिटलर शाक्य, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष इश्वरी ओझा, समाजसेवी जगन्नाथ गिरी, प्रिन्सिपल इन्दु थापालगायतले बेलर एकेडेमीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । विद्यालयका अध्यक्ष भोला थापाले आफूसँग भएको ज्ञान, सीप मुलुक र समाज विकासको लागि योगदान गर्न अनुरोध गरे ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google