काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कार्यपालिका बैठक र नगरसभा बोलाउन तयार भएका छन् । काठमाडौं प्लाजास्थित मेयर कार्यालयमा उपमेयर सुनिता डंगोल र तीन जना वडाध्यक्ष सहितको छलफलमा मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाउन सहमति जनाएका हुन् ।
छलफलमा महानगरका प्रवक्तासमेत रहेका कांग्रेसबाट निर्वाचित १७ नम्बर वडाका वडाध्यक्ष नवीन मानन्धर एमालेबाट निर्वाचित ३२ नम्बरका वडाध्यक्ष नवराज पराजुली र नेकपा एसबाट निर्वाचित १५ नम्बरका वडाध्यक्ष ईश्वरमान डंगोलको सहभागिता रहेको थियो ।
वडाध्यक्षहरू सहितको बैठक करिब ४ घन्टासम्म चलेको बताइएको छ । उक्त बैठक अपरान्ह ४ बजेतिर सकिएपछि फेरि मेयर साह र उपमेयर डंगोलबीच बेग्लै छलफल भएको थियो । मेयर र उपमेयरबीच करिब अढाइ महिनादेखिको संवादहिनता हिजो तोडिएको बताइएकाे छ ।
साे अवसरमा कार्यपालिका बैठक र नगरसभाका लागि एजेन्डाहरू तय गर्ने विषयमा छलफल भएको थियो । छलफललाई निरन्तरता दिने बताइएको छ ।काठमाडौं महानगर कार्यपालिकाको बैठक पुस १४ गतेयता बस्न सकेको छैन ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई मेयर बालेनले भ्रष्टाचार आरोप लगाउँदै निलम्बनमा राखेदेखि काठमाडौं महानगरभित्र टकराव सुरू भएको थियो । सो प्रकरणमा बालेन पूर्णरूपमा एक्लिएका थिए । जनप्रतिनिधि र कर्मचारीसमेतको प्रयासमा प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेश गराइएको थियो । सो घटनापछि मेयर र उपमेयरबीचको सम्बन्ध बिग्रियो । प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालयमा प्रवेश गराउन उपमेयर डंगोलले सक्रिय भूमिका खेलेपछि बालेन उनीसँग असन्तुष्ट बनेका थिए । कार्यालयमा फिर्ता भएका गुरागाइईंसँग बालेनले अहिलेसम्म भेटघाट र बोलचालै गरेका छैनन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google