काठमाडौं । जेनजी प्रदर्शनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं मातहतका ९८ इकाईमा आगजनी भएको प्रतिवेदन तयार भएको छ । जिल्ला प्रहरी परिसरले मंगलबार साँझसम्म तयार पारेको प्रतिवेदनमा ९८ इकाईमा आगजनी र तोडफोड भएको प्रतिवेदन दिएको हो ।
लोकपथलाई प्राप्त प्रतिवेदन अनुसार नेपाल प्रहरीका कुल १२९ इकाईमध्ये ९८ इकाईमा तोडफोड र आगजनी भएको छ । काठमाडौंका १२९ इकाईमध्ये ३१ इकाईमा भने कुनै क्षति भएको छैन ।
काठमाडौंको जिल्ला प्रहरी परिसरको कार्यालयमा कुनै क्षति नभई पूर्णरुपमा सुरक्षित रहेको छ । त्यसै गरी नगर प्रहरीमा पनि कुनै क्षति भएको छैन । जिल्ला अदालतमा रहेको इकाई पूर्णरुपमा क्षति भई परिसरबाटै कार्य सञ्चालन भइरहेको छ ।
त्यसै गरी जिल्ला प्रशासन कार्यालयमा रहेको इकाई पनि पूर्णरुपमा क्षति भई परिसरबाटै कार्य सञ्चालन भइरहेको छ ।
काठमाडौंमा डिएसपीको कमान्डमा रहने प्रहरीका १४ वटा वृत्त रहेकामा प्रहरी वृत्त मालीगाउँबाहेक सबै वृत्तमा आगजनी भएको छ । आगजनी भएका वृत्तहरूमध्ये ८ वृत्तका प्रहरीहरू आफ्नै कार्यालयमा फर्किएर सरसफाइको काम गरी कार्यालय सञ्चालन सुरु गरिसकेका छन् ।
२ वटा वृत्तले नजिकका अन्य स्थानबाट कार्यालय सञ्चालन गरेका छन् भने २ वटा वृत्तको काम परिसरबाटै भइरहेको छ । आगजनी गरिएका वृत्तमध्ये ६ वटा वृत्तमा तत्काल फर्कन सक्ने अवस्था छैन भने ८ वटा वृत्तमा पूर्ण क्षति र ५ वटामा आंशिक क्षति भएको छ ।
त्यसै गरी इन्स्पेक्टर र तथा केहीमा जुनियर अफिसरको कमान्ड रहने प्रहरीका २६ प्रहरी प्रभागमै आगजनी भएको छ । आगजनी भई पुनर्स्थापना हुन नसकेका ३ वटा प्रभागले परिसरबाटै कार्यालय सञ्चालन गरेका छन् ।
१४ वटा प्रभागका प्रहरी आफ्नै कार्यालयमा फर्किएका छन् भने एउटा प्रभाग नजिकैको अन्य स्थानबाट सञ्चालनमा आएको छ ।
२७ प्रभागमध्ये ८ प्रभागमा तत्काल फर्कन सक्ने अवस्था छैन भने एउटा प्रभाग नयाँ पुनर्स्थापना गर्नुपर्ने अवस्थामा छ ।
प्रभागमा भएको क्षतिका विवरण हेर्दा ९ वटामा पूर्ण क्षति, ११ वटामा आंशिक क्षति र २ वटामा सामान्य क्षति भएको छ भने ४ वटामा क्षति पुराइएको छैन ।
त्यसै गरी प्रहरीका १२ चौकीमध्ये ७ वटा चौकी पूर्ववत् स्थानमै फर्किएको छ भने ४ वटा फर्कन सक्ने अवस्थामा छैन । एउटा चौकी भने परिसरबाटै सञ्चालन भइरहेको छ ।
क्षतितर्फ हेर्दा १२ चौकीमध्ये ३ वटामा पूर्णरुपमा क्षति भएको छ भने ४ वटामा आंशिक क्षति र एउटामा सामान्य क्षति हुँदा ४ वटा चौकीमा कुनै क्षति भएको छैन ।
त्यस्तै प्रहरीका ४३ बिटमध्ये २७ वटा बिटमा तत्काल फर्कन सक्ने अवस्था छैन । १५ वटा बिट पूर्ववत् स्थानमा फर्कँदा एउटा बिट भने परिसरबाटै सञ्चालनमा छ ।
त्यसै गरी १८ अस्थायी प्रहरी बिटमा ३ वटा बिट पूर्ववत् स्थानमा फर्किएका छन् भने १५ वटामा तत्काल फर्कन सक्ने अवस्था छैन । अस्थायी बिटमध्ये ६ वटामा पूर्ण क्षति, ५ वटामा आंशिक क्षति र ३ वटामा सामान्य क्षति हुँदा ४ वटामा कुनै क्षति भएको छैन ।
त्यसै गरी ११ वटा अस्थायी प्रहरी पोस्टमध्ये ७ वटा पोस्ट पूर्ववत् स्थानमै सञ्चालन सुरु भएको छ भने ४ वटामा तत्काल फर्कन सक्ने अवस्था छैन ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google