काठमाडौँ । लगाएकाे कपडामा सुन लेपन गरेर नेपाल आउँदै गरेका दुईजना भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । उनीहरुकाे साथबाट प्रहरीले पाँच किलाे भन्दा धेरै सुन बरामद गरेकाे छ ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार दुबईबाट काठमाडौँ आउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३३ वर्षीय सुरेशकुमार र ३४ वर्षीय मोहनकुमार गणेशन रहेका छन् ।
सुरेशकुमारको साथबाट २ किलो ६ सय ग्राम र गणेशनको साथबाट २ किलो पाँच सय ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
सुरेशकुमारले लगाएको सेतो रंगको टिसर्ट, निलो रङकै पेन्टी र कालो रङको जिन्स पाइन्टमा लेपन पेस्ट गरिएको अवस्थामा २ किलो ६ सय ग्राम सुन बरामद भएको हो ।
त्यसैगरी गणेशनले लगाएको कालो रङको टिसर्ट, निलो पेन्टी र निलै रङको जिन्स पाइन्टमा पेस्ट गरिएको अवस्थामा २ किलो ५ सय ग्राम सुन बरामद गरिएको भेटिएकाे छ ।