श्रीमतीको अर्कै प्रेमी रहेको थाहा पाएपछि हत्या, श्रीमान पक्राउ

दर्पण दैनिक ३२ जेष्ठ २०८०,०९:५८
post

काठमाडौं । तनहुँमा बोराभित्र मृत फेला परेकी युवतीलाई आफ्नै श्रीमानले हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले हत्या आरोपमा भानु नगरपालिका-५ मैबल घर भई व्यास नगरपालिका-४ स्थित डेरामा बस्ने २० वर्षीय मनोज विष्टलाई पक्राउ गरेको हो ।

मृतक व्यास-१२ माइती भएकी उनकै २२ वर्षीया श्रीमती रंगिला भुजेल हुन् । कार्यालयले यस घटनाबारे बुधबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले उनका श्रीमान विष्टलाई हत्या अभियोगमा पक्राउ गरेको हो । 

एसपी अबदेश विष्टका अनुसार मनोजले आफ्नी श्रीमतीको अर्कै प्रेमी रहेको थाहा पाएका थिए । उनले प्रेमी रहेको थाहा पाएपछि गत शुक्रबार मध्याह्नमा डेरामा रंगिलालाई मुक्काले हिर्काएका थिए । त्यसपछि भने उनले घाँटी थिचेर हत्या गरेको एसपी विष्टले बताए । 

हत्यापछि उनले व्यास-४ चिहानडाँडा नजिकैको नालामा फ्याँकेका थिए। हात बाँधिएको अवस्थामा बोराभित्र राखेर शव उक्त स्थानसम्म पुर्‍याइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

शव भने मंगलबार बिहान स्थानीयले गन्ध आएको थाहा पाएपछि फेला पारेका थिए । अनुसन्धानको क्रममा सुरूमा मृतकको पहिचान खुलाउने प्रयास गरिएको थियो । मृतकको सनाखत भएसँगै अनुसन्धान अघि बढाएर श्रीमान मनोजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: