
काठमाडौं । ललितपुर गोदावरीको तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका अर्का एक व्यक्तिको पनि बुधबार बिहान मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते ४७ वर्षीय रमेश पहरीको पनि उपचारको क्रममा बुधबार बिहान किर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको गोदावरी–४ का वडाअध्यक्ष सानुभाइ नगरकोटीले जानकारी दिए ।
उनका अनुसार पहरीको शव बर्न अस्पतालबाट पोस्टमार्टमका लागि किस्ट अस्पताल लैजाने तयारी गरिएको छ । नगरकोटीले भने, ‘मृतकका परिवारलाई नगरपालिका र वडा कार्यालयको बैठक बसेर उचित राहतको व्यवस्था गर्छौ ।’ गोदावरी नगरपालिका भित्रका तपेश्वर, लेले, ठैडो ललगायतका बनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । मंगलबार मात्रै डढेलो निभाउने क्रममा शंकर पहरी र रमेश पहरी घाइते भएका थिए । शंकरको उपचारका क्रममा मंगलबार दिउँसो र रमेशको बुधबार बिहान मृत्यु भएको हो । वनमा लागेको डढेलो नियन्त्रण बाहिर पुगेको छ । नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास जारी राखेपनि सफल हुन सकेको छैन ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google