काठमाडौँ । सर्लाहीमा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति करिब १ बजे सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै निवासमा ८० वर्षीय रायको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ । घरमा एक्लै सुतेको बेला राति १ बजे धारिलो हतियारले टाउकाेमा प्रहार गरी उनको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
प्रहरीले मुचुल्का उठाएर शव पाेष्टमार्टमका लागि सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगेको छ । घरकै छेउको बाँसघारीबाट पूर्वमन्त्री रायमाथि प्रहार भएको उखु काट्ने घरेलु हतियार बरामद भएको छ । मन्त्री रायकै घरमा रहेको सो हतियारबाट उनको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राय २०५४ सालमा सूर्यबहादुर थापाको प्रधानमन्त्रीकालमा भूमिसुधार राज्यमन्त्री बनेका थिए । उनी राप्रपाको गत महाधिवेशनमा उपाध्यक्ष उम्मेदवारसमेत थिए ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले घटनाको सत्यतथ्य तत्काल पत्ता लगाउन सरकारसँग आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'सर्लाहीका पुराना नेता, राप्रपाको संस्थापक र गत महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार, पूर्वमन्त्री रामचन्द्र रायको आफ्नै निवासमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सुनेर स्तब्ध भएको छु। निन्दनीय घटनाको सत्यतथ्य अविलम्ब जाँचबुझ गरियोस्, दोषी पत्ता लगाइयोस् र कडा कारबाही गरियोस् ।'
मृतक राय तीन दाजुमध्ये माइलो थिए । उनका एक श्रीमती २ छोरा तथा ५ छोरी छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google